kaidiताप्लेजुङ  / कारागार व्यवस्थापन बिभागले मागे जति रकम नपठाउँदा जिल्ला कारागार ताप्लेजुङका कैदि बन्दिको उपचार गर्न समस्या भएको छ । कारागार व्यवस्थापन बिभागले पठाउने रकम अघिल्लो बर्षको ऋण तिर्नमै खर्च हुन थालेपछि कैदी÷बन्दीको उपचार अहिले ‘बांकी’ मा चलाउनुपर्ने अवस्था रहेको जिल्ला कारागार व्यवस्थापन शाखा ताप्लेजुङका स्वास्थ्य सहायक ध्वनिराम सिंहले बताए । उनका अनुसार केन्द्रबाट निकासा भएको रकमले एक चौमासिक अवधि सम्म पनि कैदी/बन्दीको उपचार संभव हुदैन । निकासा भएको रकम सकिएपछि उपचारका लागि लगिएका कैदी बन्दीलाई लाग्ने खर्च मेडिकल स्टोरमा खाता खोली बाकीमा चलाईदै आएको छ । बाँकि रकमनै ६० हजार सम्म पुगेकाले अहिले मेडिकलहरुले पनि बाँकि दिन आनाकानि गर्न थालेपछि सरकारले निसुल्क उपलब्ध गराउने बाहेकका औषधि आफै किनेर उपचार गर्न कैदि बन्दि र उनिहरुका आफन्तलाई आग्रह गर्नुपर्ने बाध्यता रहेको सिंहको भनाई छ । कारागार व्यवस्थापन विभागमा बाँकि रकम तिर्न र उपचारका लागि पत्रचार र्दै दुई लाख सम्म खर्च माग गर्दा समेत एक पटकमा १०/१५ हजार मात्र पठाउने हुँदा यो रकमले कैदिको उपचारमा छेउ पनि नभेटेने उनले बताए । कैदी बन्दीलाई जिल्ला बाहिर लगेर उपचार गर्नुपर्ने अवस्था नआएकोले जिल्ला भित्रका औषधी व्यवसायीले अहिले सम्म त पत्याएका छन् तर अब रकम ठुलो भएकाले बाँकि दिन आनाकानि गर्न थाले सिंहले गुनासो गरे । निशुल्क पाईने औषधीको प्रयोग गर्ने प्रकृतिका बिरामी कम हुने भएकाले औषधी खरिदमा मोटो रकम खर्चनुपर्ने उनको भनाई छ । केहि कैदिको यहां उपचार संभव नभए बाहिरी जिल्ला लैजादा लाग्ने एम्बुलेन्स र बाटो खर्च तथा अस्पतालले लिने सेवा शुल्क तिनुपर्ने अवस्था आएमा आफ्नो झनै समस्या हुने सिंहले बताए । पचिस जनाको मात्र क्षमता रहेको जिल्ला कारागार ताप्लेजुङमा अहिले ९९ जना कैदि बन्दिलाई कोचिएर राखिएको छ । सबैलाई एकै ठाउँमा राख्नुपर्दा कैदि बन्दिमा स्वासप्रस्वार र छालाको रोग बढि देखिएको छ ।