धरान / वनमा खेर जाने झारपातलाई मल र बिक्रेट कोइलामा रुपान्तरण गर्दै आएका धरान–८ का गोपाल श्रेष्ठ यसैलाई आर्थिक उपार्जनको भरपर्दो स्रोत बनाएका छन् ।
[caption id="attachment_12650" align="alignnone" width="700"]

उत्पादित बिक्रेट देखाउँदै गोपाल श्रेष्ठ । तस्बिरःब्लाष्ट/भोजराज[/caption]
वन मास्ने वनमारा र अन्य झारलाई उनी यसरी तह लगाउँछन् कि जसले लाभांस मात्रै दिँदैन वनसमेत संरक्षण गर्न मद्दत गर्दछ । धरान–८ लाङ्घाली सामुदायिक वनमा वनमाराको प्रकोपलाई उनैले बिक्रेट र मल उत्पादन गरेर तह लगाए । २०६२ सालमा नेपाल टेलिभिजनको पर्दामा बिक्रेट कोइलाको सीप सिकाएपछि उनले त्यही हेरेर बिक्रेटमा हात हाले । त्यही बिक्रेटका प्रशिक्षकको रुपमा चिनिन्छन् ।
सुधारिएको चुलो बनाउन उस्तै निपुण छन् । झारपातको मल उत्पादन गर्न उनलाई कस्ले सक्छ र ।
२०२८–२०३० साल ताकै जिल्ला कृषि कार्यालयबाट सुनसरीको उत्कृष्ट मल उत्पादकको रुपमा ३२ हजार रुपैयाले पुरस्कृत बनेका थिए । उनको झारपाते मल अहिले पूर्वको ताप्लेजुङसम्म पुग्छ । नेपाल टिभीमा सिन्धुपाल्चोकमा वनमाराहरु कटिङ गरेर कोइला बनाएको सिकाएपछि उनले त्यही कला टपक्कै टिपे । ‘खेर जाने झारपातलाई प्रयोग गरेँ । जसले आम्दानी पनि दियो । वनसमेत संरक्षण भयो ।’ उनी विगत सम्झन्छन् । तर, बिक्रेट बनाउन थाल्दा सामुदायिक वनका पदाधिकारीहरु ‘वन मासिन्छ’ भन्दै तिब्र विरोध गरे । समूहका पदाधिकारीबीच आरोप–प्रत्यारोप नै चल्यो ।
तर, उनले कुरो बुझाउने प्रयत्न गरे । फलतः अहिले जो वन मासिन्छ भन्दै कुर्लिए उनीहरुले नै मल र बिक्रेट लाने गरेका छन् । ‘समितिले नै बनाएको भए त हुने रहेछ नी’ भन्दै त्यो बेलाका विरोधीहरु अहिले भन्न थालेका छन् । यस्ता कुरा सुन्दा उनी सन्तुष्ट हुन्छन् । त्यो बेला ठिक निर्णय गरेकै कारणले अहिले पूर्वका सामुदायिक वनमा मल र बिक्रेट बनाउने सेलिब्रेटी नै गनिन थालेका छन् । उनले तालिम दिएका धेरै ठाउँहरुमा अहिले मल उत्पादन भइरहेको छ । उनको समूहले वनलाई वार्षिक २ हजार रुपैया करको रुपमा बुझाउँछन् । सिजनमा ८–१० जनालाई रोजगारी दिन्छन् । कुनै बेला आफै रोजगारी खोज्दै हिड्ने उनी अहिले अरुलाई दैनिक ४ सय हाजिरा दिन सक्ने भएका छन् ।
मलबाट औषतमा मासिक २० देखि २५ हजार रुपैयासम्म आम्दानी गर्छन् भने बिक्रेटबाट मासिक करिव १० देखि १५ हजार रुपैया उनको पकेटमा आइपुग्छ । हिउँदको समयमा मात्रै बिक्रेट उत्पादन हुन्छ । उनको बिक्रेट धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरका अस्पताल, इलाम र पाँचथरसम्म पुग्छन् । ‘धेरै खपत हुँने क्याम नै हो । त्यसपछि स्थानीय बजार र विराटनगरको अस्पतालहरुमा जान्छ ।’ उनी भन्छन् ‘नानीहरु सेक्नको लागि सहज हुने भएकाले पनि यसको माग अस्पतालहरुमा बढी हुने गरेको छ ।’ धरानमा कम्पोष्ट मल उत्पादन समूहमार्फत काम गर्छन् । तर, उनी यो समूहमा एक्लो लिडर हुन् । साना तथा घरेलु उद्योग सुनसरीमा २०७० सालमा दर्तासमेत गराएका छन् । ३ सय क्विन्टलसम्म उत्पादन क्षमताको अनुमति लिएका छन् ।
अहिले वार्षिक २ सय क्विन्टलसम्म उत्पादन गरिरहेको सुनाउँछन् । भन्छन् ‘२ सय क्विन्टल वार्षिक उत्पादन भइरहेको छ ।’ उनको उत्पादन विशेष गरेर क्लाइमेक्स अग्र्यानिक कम्पोष्ट मलले बजार व्यवस्थापन गरिदिएको छ । माग अत्यधिक छ । माग अनुसारको उत्पादन गर्न कठिनाई भएको उनी बताउँछन् । वनमारा बर्खाको समयमा मात्रै हुने भएकाले पनि बिक्रेट उत्पादन र मल उत्पादनमा कठिनाई छ । बर्खामा काटेको बनमारा हिउदभरी थेग्दैन । जसको कारणले माग अनुसारको उत्पादन गर्न नसकिएको उनको तर्क छ । मल र बिक्रेटको लागि झारपात काट्ने मेसिन जोडेका छन् । एउटै मेसिनले झण्डै ८ जनाको काम गरिदिन्छ ।
बिक्रेट ६ देखि ७ हजार थान उत्पादन गर्छन् । अहिलेसम्म उनले आफ्नो समूहमा करिव ३ लाख रुपैया लगानी गरेका छन् । तर, सरकार र स्थानीय निकायले लगानीको उचित व्यवस्थापन नर्गदा कृषकहरु मारमा पर्ने गरेको उनी बताउँछन् । ‘यस्ता क्षेत्रहरुमा सरकारले लगानी गर्नुपर्छ ।’ उनी भन्छन् ‘सरकारले रसायनिक मल ल्याउँन करोडौं खर्चिन्छ यस्ता क्षेत्रमा खर्च गर्ने हो भने रकमको सदुपयोग पनि हुन्थ्यो, उत्पादन पनि बढ्थ्यो ।’ देशकै उत्पादन प्रयोग गर्नुपर्छ भन्ने कुरामा उनी सचेत छन् । रसायनिक मलको विस्थापनको लागि देशभरका सामुदायिक वनहरुले झारपातबाट मल उत्पादन गरेर बजार पु¥याउनु पर्ने तर्क गर्छन् ।