म्याग्दी/भगवती–१ माझखर्कमा पहिराको जोखिमले पाँच घर विस्थापित भएका छन् । बस्तीदेखि माथिको लसुनेखोला हुँदै बाढी र पहिरा झरेपछि स्थानीयवासी कमला कार्कीको घरको गाह्रो भत्काएको छ । जमिन चिराचिरा परेर पहिरा खस्न थालेपछि कमला, हरि दर्जी, शरणबहादुर दर्जी, राममाया कार्की र ज्ञानबहादुर कार्कीको परिवार विस्थापित भएका छन् । त्यसैगरी कमल कार्की र टोपबहादुर कार्कीको घर समेत पहिराको जोखिममा परेको वडा नागरिक मञ्चका संयोजक बालकृष्ण कार्कीले जानकारी दिए ।  “पहिरो खसिरहेको छ, पहिरो नरोकिएमा अन्य २० बढी घर समेत जोखिममा पर्छन्”–संयोजक कार्कीले भने । पहिराबाट विस्थापितहरु आफन्त र स्थानीय आमा समूहको भवनमा आश्रय लिएर बसेका छन् । पहिराले धान खेत समेत बगाउन थालेपछि कृषक चिन्तित बनेका छन् । रासस