भीमदत्तनगर/जिल्लामै सबैभन्दा बढी वादी परिवार रहेको कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकस्थित वादी बस्ती बाढी तथा नदी कटानको उच्च जोखिममा रहेको छ । वनहरा नदीले विगतमा यहाँ आठ परिवार बाढीकै कारण विस्थापित भएका छन् । नदीमा आएको बाढीले खेत कटान गरेपछि उनीहरु विस्थापित भएर अहिले पूर्व पश्चिम राजमार्गको छेउमा आश्रय लिइरहेका छन् । विसं २०४९ देखि गाउँमा बस्दै आएका ३९ परिवार वादीमध्ये अधिकांशको खेत नदीले कटान गरेको छ । “आठ/नौ कट्ठा जग्गा थियो ।” स्थानीय राधा कुमालले रासससँग भने– “अहिले त डेढ कट्ठा मात्रै बाँकी छ ।” खेत बाढीले बगाएपछि आफूहरु गाउँमा अरुको खेत ठेक्कामा लिएर कमाइ गरिरहेको उनले बताए । दुई वर्षअघि विभिन्न दातृ निकायको पहलमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण भए पनि बस्ती अझै नदी कटानको उच्च चोखिममा रहेको स्थानीय विमल कुमालले बताए । उक्त समुदायमा पछिल्लो समय पुरुषभन्दा महिला वैदेशिक रोजगारमा गएर घर खर्च चलाइरहेका छन् । “गाउँमा कहिलेकाहीँ मजदुरी पाए गर्छौं ।” हरिलाल कुमालले भने– “खेत जति नदीले बगायो ।” उनका अनुसार हालसम्म वादी समुदायको मात्रै १० बिगाहा खेत वनहरा नदीले बगाइसकेको छ । गाउँमा रहेको विद्यालयमा वादी समुदायका ३९ जना बालबालिका अध्ययनमा जुटेका छन् । धेरै युवा पुस्ता रोजगारीका लागि भारत गएको हरिलाल कुमालको भनाइ छ । “सीप भएर पनि यहाँ रोजगारी भएन ।” उनले भने– “सिकर्मी र डकर्मी तालिम लिएँ तर काम पाइनँ ।”