काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिएका छन् । भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी लिएका छन् । सो अवसरमा प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतको समेत उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थिए । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्ने छन् । सोही दिन राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ भने उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायलले जनाएको छ । त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । भ्रमणको दोस्रो दिन भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्ने छन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्रपति आफ्नो सम्मानमा काठमाडौँ महानगरपालिकाले आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा भाषण दिने छन् । राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन् । यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक स्वागत कार्यक्रम आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जाने छन् । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आएका थिए ।