ताप्लेजुङ/ अहिलेसम्म कोरोना सङ्क्रमण नभेटिएको ताप्लेजुङमा बुधबार पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साउदी अरबबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका युवा ज्वरोसहितका समस्याका कारण उपचारका लागि जिल्ला अस्पतालको फिवर कक्षमा भर्ना भएका थिए । उनीसँगै विभिन्न देशबाट फर्किएर क्वारेण्टिनमा बसेका नागरिक र शङ्कास्पद गरी २० जनाको स्वाब सोमबार सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ती व्यक्तिको पीसीआर रिपोर्ट भने पोजेटिभ आएको हो । यसअघि २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि पीसीआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि ताप्लेजुङमा १ सय ५२ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएका व्यक्तिलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना उपचार केन्द्रमा पठाउने तयारी भइरहेको कोभिड–१९ नियन्त्रण समिति ताप्लेजुङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख धनेन्द्र मादेनले जानकारी दिए ।

यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेण्टिनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना सङ्क्रमित फेला परे पनि ताप्लेजुङमै पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको भने यो पहिलो पटक हो । यसअघि झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेण्टिनमा फेला परेका ताप्लेजुङका कोरोना सङ्क्रमित भने निको भएर घर फर्किसकेका छन् ।