काठमाडौं(ब्लाष्ट) एमाओवादीका स्थायी समितिका सदस्य गोपाल किरातीले केपी ओली सरकारलाई हटाएर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् । एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बङ्गालमा ज्योति बसुले शासन गरेजस्तो शासन गर्न चाहेको उनले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा किरातीले भने, ‘केपी ओलीको सरकार इतिहासमै खतरनाक राष्ट्रघाती सरकार हो । यो सरकारलाई यथाशिघ्र विस्थापित गरेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नभए मधेश आन्दोलन, पुनर्निर्माण र शान्ति प्रक्रियाको विषयमा धारणा लिएर काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिने उनको भनाइ थियो । नेता किरातीले ओली नेतृत्वको सरकार हटाउन पार्टीभित्रै सशक्त आन्दोलन गर्ने घोषणा गरे । अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अन्यथा पार्टीभित्र सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् । नेता किरातीले आफ्नो अभियानको समर्थनमा ५० केन्द्रीय सदस्य रहेको दाबी गरे । उनले ओली सरकारलाई हटाउन पार्टीको संसदीय दल, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा समेत छलफल गराउने योजना सुनाए । उनले भने, ‘यो सरकार लामो समयसम्म जान सक्दैन । केपी ओलीबाट एमाओवादी आजित भइसकेको छ ।’ किरातीले खोक्रो राष्ट्रवादको नाममा भारतलाई चिढ्याएर अन्तर्राष्ट्रिय गठबन्धन बनाएर माओवादीलाई घेराउ गर्ने खतरनाक योजनामा प्रधानमन्त्री लागेको बताए । माओवादीको चिहानमा एमालेको शासन गर्ने योजनालाई बुझ्नुपर्ने भन्दै उनले भने, ‘केपी ओली शान्ति सम्झौता सिध्याएर ज्योति बसु र चारु मजुमदारको जस्तो अवस्थामा पु¥याउने षड्यन्त्रमा लागेका छन् ।’