इनरुवा/नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले मधेशको समस्या समाधानका लागि प्रमुख राजनीतिक शक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा बासुदेव कोइराला स्मृति प्रतिष्ठानले छैठौं स्मृति दिवसको अवसरमा बुधबार आयोजना गरेको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले संविधानसभाबाट जारी भएको नयाँ संविधान विश्वमै उत्कृष्ट रहेको दावी गरे । थापाले संविधान उत्कृष्ट भएपनि संविधानको कार्यान्वयनका लागि सबै दल एकजुट भएर मधेशको समस्या समाधानमा लागि पर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुनसरी क्षेत्र नं. ४ का सांसद सीताराम मेहताले संविधानमा मधेशवादी दलहरुको हक–अधिकार समेटिएको भन्दै मधेशमा मधेशवादी नेताहरुले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । उनले तराई, पहाड र हिमालको कुनैपनि कुनामा मधेशवादी दलहरुको जनमत नभएको ठोकुवा गरे ।
काङ्ग्रेस सांसद सूर्यदेव दास उराव, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गोपाल कोइराला, नयाँशक्तिका केन्द्रीय सदस्य डम्बर खतिवडा, काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइराला, नेता हरिगोविन्द यादव, रामप्रसाद मेहता, नागरिक समाजका अगुवा पुरुषोत्तम घिमिरे, बासुदेव स्मृति प्रतिष्ठानका सचिव लीलामणि सुवेदी लगायतले संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।