सङ्खुवासभा/ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आन्दोलनरत् मधेश केन्द्रित दल र नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
बिहीबार वाना महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले डेढ दशकयता मुलुक आन्दोलनै आन्दोलनले ग्रस्त भएको र भूकम्प, नाका अवरोध र बन्द–हड्तालले पिल्सिएको भन्दै देश निर्माण गर्न सहमतीय सरकारमा सहभागी हुन दलहरुलाई आग्रह गरे । उनले सरकारमा सहभागी भएर देश र जनताको पक्षमा काम गर्नुको विकल्प नभएको जिकीर गरे ।
सबैको सहयोग र मेहनतले जारी भएको नयाँ संविधान कार्यान्वयनमा सहमतीय सर्वदलीय–सर्वपक्षीय सरकार आवश्यक भएकाले संविधानको सम्मान गर्न सरकारमा सहभागिता जनाउनुपर्ने उनको धारणा छ । जनताले बन्द–हड्ताल नचाहेको उनले संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भएर शान्तिपूर्ण भूमिका खेल्न मधेश केन्द्रित दललाई आग्रह गरे । भूकम्प, नाका अवरोध र बन्द–हड्तालले देश २० वर्ष पछि धकेलिएकाले राष्ट्रिय सरकारको विकल्प नभएको उनको भनाइ थियो । एमाले नेतृत्वकै सरकारमा सबै दल सहभागी भएर देश र जनताको भलाइ तथा देश निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याए ।
किमाथाङ्का नाकाको अवलोकन गरेर फर्किएपछि कार्यक्रममा बोल्दै उनले चीनको चाँगा र देन्दाङ बजार नेपाली भूमिभन्दा साँघुरो रहेको कारण भन्सार कार्यालय निर्माण गर्न नेपाली भूमि नै उपयुक्त देखिएकाले यसका लागि तत्काल पहलकदमी थाल्ने बताए । ‘भन्सार क्षेत्र विकास गर्नु उपयुक्त छ किनकि चिनियाँले नेपालीप्रति मैत्री व्यवहार गरेको पाएँ’, उनले भने, ‘छोटो दुरीको नाका किमाथाङ्का भएकोले सम्भावना बढी छ । यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ ।’ किमाथाङ्का सडक दुई लेनको बनाउन सरकारले छिटोभन्दा छिटो काम अघि बढाएको बताउँदै उनले एकपटक टेण्डर भएको र दोस्रो टेण्डरको तयारीमा रहेको समेत जनाए ।
जलविद्युत्को विकासलाई उच्चतम प्राथमिकता नदिने हो भने विकास असम्भव भएको भन्दै नेता नेपालले आपूmले लेखेको पत्रकै भरमा अरुण तेस्रो खारेज भएको भन्ने भनाइको खण्डन गरे । भारतीय कम्पनी सतलजलाई ठेक्का दिन आपूmले मुख्य भूमिका खेलेको उनले बताए । उनले अरुणमा भोटको राजनीति नगर्न सबैलाई आग्रह गरे ।
सो अवसरमा उनले भौतिक पूर्वाधारको विकास महत्वपूर्ण हुने धारणा राखे । अमेरिकाले सडकमा प्राथमिकता दिएकोले अहिले विकासमा फड्को मारेको जिकीर गर्दै नेता नेपालले भने, ‘हामी पनि मध्यपहाडी लोकमार्ग, किमाथाङ्का–विराटनगर सडक, हुलाकी लोकमार्ग, पूर्व–पश्चिम लोकमार्ग निर्माणमा लागिपरेका छौँ । यसमा सबैको सहयोग आवश्यक छ ।’ त्यसो भए मात्र नेपाली जनताले सुखी र समृद्ध जीवन बिताउने उनको भनाइ थियो ।