धरान/ अभिभावकको ढाड सेक्नेगरी मनपरि शुल्क उठाउन थालेका निजी स्कुलप्रति बिद्यार्थी संगठनहरु कडा रुपमा उत्रने भएका छन् ।
मङगलबार नेपाल विद्यार्थी संघको कार्यालय डिल्लीबजारमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।बिद्यार्थी संगठनसँग सरकारले यस अघि गरेका सम्झौता लागु नभएको भन्दै बिद्यार्थीहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरुले मुलुकमा कालोबजारी र भ्रष्टाचार बढ्दै गएकाले यसको नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका छन्।नेविसंघका प्रवक्ता युपी लामिछानेले निजी विद्यालयले मनोमानी शुल्क असुलिइरहेको बताए। उनका अनुसार १३ वटा समिति बनाएर अनुगमन थालिनेछ।बैठकमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौं), अनेरास्ववियु (छैटौं) लगायत ११ विद्यार्थी संगठनका नेताहरु उपस्थित थिए।
यस्ता छन् आन्दालनका कार्यक्रम
१. मनोमानी शुल्क असुल्ने विद्यालयहरुमा १३ वटा अनुगमन समिति बनाएर भोलिबाट कडाइका साथ अनुगमन थाल्ने। विशिष्ट श्रेणीका विद्यालयबाट सुरु गर्दै २०७२ वैशाख ६ को १० बुँदे सहमति लागू गराउन सरकारलाई दबाब दिने।
२. शिक्षामा बजेट बढाउनका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई तत्काल ध्यानाकर्षण गराउने।
३. शिक्षासँग सबन्धित र विद्यार्थी राजनीतिसँग जोडिएका सरोकारवालासँग अन्तर्क्िरया गर्ने।
४. राजगारीको माग गरी खुलामञ्चमा युवाहरुले गरेको आमरण अनसन तत्काल वार्ताबाट सम्बोधन गरी जीवनरक्षा गर्न सरकारलाई आग्रह गर्ने।
५. श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल कडाइका साथ लागू गराउन सरकारको ध्यानाकर्षण गराउने र श्रमजीवी श्रमिकको न्युनतम पारिश्रमिक कायमका लागि अपिल गर्ने। फाईल तस्विर