उत्तम नेपाल, भद्रपुर / भद्रपुर नगरपालिका कार्यालयले आगामी जेठ १ गतेदेखि शौचालय नभएका घरधनीका सम्पूर्ण सेवा–सुविधा कटौती गर्ने निर्णय गरेको छ । २२ औँ नगर परिषद्को निर्णयअनुसार नै यस्तो नियम कार्यान्वयनका लागि तयारी पूरा गरिसकेको नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए । शौचालय भएका घरधनीलाई प्रमाणपत्र वितरण गरिसकिएकाले अब सोही प्रमाणपत्रका आधारमा सेवा दिइने उनले जनाए ।
निर्णय कार्यान्वयनका लागि नगरपालिकाले नगरस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिसकेको छ । कार्यकारी अधिकृत घिमिरेको संयोजकत्वमा गठित समितिमा सबै वडाका वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, नगरका क्रियाशील राजनीतिक दल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधि तथा विद्यालयका प्राचार्य र स्वास्थ्य संस्थाका प्रमुखहरु सदस्य रहने प्रावधान छ । अब चाँडै वडास्तरीय समिति पनि गठन गरिने नगरपालिकाले जनाएको छ ।  
नगरमा १० हजार ९ सय ३ घरधुरी रहे पनि २ हजार २ सय ८४ घरमा शौचालय नरहेको तथ्याङ्क छ । शौचालय नहुने घरमा आदिवासीका ४० प्रतिशत, सन्थालका १५ र मधेशी÷मुस्लिमका १५ प्रतिशत छ । नगरपालिकाले जेठ महिनाभित्र वडा नम्बर ६, ८ र ९ लाई खुल्ला दिसामुक्त वडा घोषणा गर्ने र त्यसपछि उत्कृष्ट हुने वडाको वडा नागरिक मञ्चलाई १ लाख रुपैयाँले पुरस्कृतसमेत गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
नेपाल सरकारले सन् २०१६ भित्र नेपाललाई खुल्ला दिसामुक्त बनाउने अभियान सञ्चालन गरे पनि चार वर्ष बित्न लाग्दासमेत यो प्रभावकारी भएन । अभियान प्रभावकारी नभएपछि अहिले स्थानीय निकाय शौचालय नभएका घरधनीका सेवा–सुविधा कटौती गर्ने अभियानमा लागिपरेको छ । झापामा ८ नगरपालिका र ३३ गाविस भए पनि हालसम्म तीनवटा गाविस मात्र खुल्ला दिसामुक्त घोषित भएका छन् ।
shauchalay