संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र जनजाति अभियानसम्बद्ध केही दलले आइतबार आयोजना गरेको सिंहदरबार घेराउ कार्यक्रममा नेपाल घुम्न आएका विदेशी नागरिक पनि उपस्थित थिए ।
‘लिम्बूवान’ लेखिएको रातो कपडा टाउकोमा बाँधेर चारजना विदेशी युवायुवती मधेशी दलको सिंहदरबार घेराउ कार्यक्रममा सहभागी भएका थिए । उनीहरु मधेशी मोर्चा र जनजातिसम्बद्ध दलका कार्यकर्तासँगै नाराबाजी गर्दै धर्नामा समेत बसे ।
गृहमन्त्रालयले भने यसबारे अनभिज्ञता प्रकट गरेको छ ।
गृहमन्त्रालय स्रोतले सबै स्थानको रिपोर्ट नआएकाले आन्दोलनमा विदेशी नागरिकको सहभागिता पुष्टि भइनसकेको जनाएको छ । नेपालको अध्यागमन कानूनले विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा सहभागी हुन निषेध गरेको छ । सिंहदरबार घेर्न पुगेका विदेशी कुन देशका नागरिक हुन् भन्ने पनि खुल्न सकेको छैन ।
यसअघि क्यानाडाका नागरिक रोबर्ट पिनरले मधेश आन्दोलनका समर्थनमा सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेपछि सरकारले उनको भीसा रद्द गरिदिएको थियो ।