दमाम / डेढ दशकअघि शिक्षण पेसामार्फत बालबालिकाको उज्ज्वल भविष्य कोर्न लागिपरेका स्याङ्जा Rss_Images_1463398665023_BP_ Saudi Arab_160408_jeshkumar (1)तीनदोबाटेका ४५ वर्षीय जेशकुमार श्रेष्ठ यतिबेला भने साउदी अरबमा आफ्नै भविष्य कोर्न तल्लिन छन् ।बीस वर्षको उमेरमै अध्यापन पेसा सुरु गरी श्रेष्ठले आफँै अध्ययन गरेको स्याङ्जाकै पकवादीमा रहेको जानकी मावि र गल्याङको चिराग बोर्डिङ स्कुलमा गरी आठ वर्ष शिक्षण सेवामा समर्पित रहे । श्रेष्ठले विज्ञान विषय अध्ययन गरी शिक्षण पेसामा आबद्ध भएका थिए ।माध्यमिक तहको गणित र विज्ञान विषय अध्यापन गराउने जेश सर स्याङ्जाको सो क्षेत्रमा निकै लोकप्रिय शिक्षक बन्न सफल पनि भए । शिक्षण पेसामै स्थायी जागिरे बन्ने र जन्मभूमिको सेवा गर्ने सोच बनाएका श्रेष्ठको योजना भने सफल हुन सकेन । जेश सरलाई शिक्षण पेसामै आत्मसन्तुष्टि मिले पनि आर्थिक अवस्थाले भने सोचेअनुरुप साथ दिन सकेन । घरका एक्ला छोरा उनी पारिवारिक जिम्मेवारी निभाउनकै लागि भए पनि विदेशिनुपर्ने बाध्यता बन्यो । विदेशिने कल्पनासम्म नगरेका उनले २०५४ सालमा केही साथीभाइसँग मिलेर जापान जाने तयारी गरे । तर जापानको यात्रा भने सफल हुन सकेन । केही वर्ष विदेश बसेर स्वदेश फर्कने योजनाका साथ आर्थिक समृद्धिको सपना बुनेर अन्ततः २०५५ मा खाडी मुलुक साउदी अरब हानिए । सामान्य कामदारका रुपमा साउदी अरब छिरेका जेश सर अहिले भने यहाँको एक प्रतिष्ठित कम्पनीमा म्यानेजर बन्न सफल भएका छन् । सामान्य कामदार हुँदै म्यानेजर बनेका श्रेष्ठको यो सफलता सहजै प्राप्त भएको भने होइन ।डेढ दशकअघि पहिलोपटक मासिक एक हजार ५०० तलब पाउने गरी साउदी अरब छिरेका श्रेष्ठले सात वर्ष एक कम्पनीमा कार्यालय सहायकका रुपमा काम गरे ।त्यहाँ खासै सफलता हात पर्ने सम्भावना नदेखेपछि अर्को कम्पनीमा आउने चाँजोपाँजो मिलाएर स्वदेश फर्के । मासिक चार हजार रियल तलब पाउने गरी उनी नयाँ कम्पनीमा कम्पनी प्रमुखको कार्यकारी सचिवका रुपमा नियुक्त भए ।

     पाँच वर्ष जति कार्यकारी सचिवका रुपमा काम गरेपछि उनलाई कम्पनीले कार्यालयको उपल्लो तह सुपरभाइजरमा पदोन्नति ग¥र्यो । केही वर्षमै स्वदेश फर्केर फेरि शिक्षण सेवा गर्ने सोच बनाएका श्रेष्ठले काम गर्ने क्रममा सफलता हात पार्दै गएपछि साउदी अरब बस्ने योजना पनि लम्बिँदै गएको बताउनुहुन्छ ।

     श्रेष्ठको कामबाट प्रभावित भएपछि कम्पनीले एक पछि अर्को पदोन्नति गर्दै उनलाई विभिन्न जिम्मेवारीहरु सुम्पन थाल्यो । आफूले पाएका जिम्मेवारी सफलतापूर्वक र कुशलतापूर्वक सम्पन्न गर्दै उनले कम्पनी सञ्चालकको मन जित्दै गए । पछि उनको काम र लगावबाट प्रभावित भएर कम्पनी सञ्चालकले उनलाई विभागीय प्रमुखका रुपमा म्यानेजर पदमा पदोन्नति गर्यो ।  श्रेष्ठका अनुसार उक्त कम्पनीमा विभिन्न मुलुकका गरी झन्डै एक हजार कामदार कार्यरत रहेका छन् । सो कम्पनीमा श्रेष्ठले कम्पनीलाई आवश्यक पर्ने कच्चा पदार्थको खरिद तथा आयात व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन् ।

     “यो स्तरसम्म पुग्छु र म्यानेजर नै बन्छु भनेर सोचेको पनि थिइनँ, तर निरन्तर काम गर्दै जाँदा प्रगति पनि क्रमिक रुपमा हँुदोरहेछ–विगत सम्झँदै श्रेष्ठले भन्नुभयो ।” मैले कहिल्यै पनि कामलाई सानो वा ठूलो भनेर हेरिनँ, जस्तो काम गर्न परे पनि तयार भएँ । यहाँको कुनै पनि कम्पनीको उच्च तहमा आप्रवासी कामदारलाई भन्दा स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने प्रावधान रहे पनि श्रेष्ठ भने यहाँको प्रतिष्ठित कम्पनीकै उच्च तहमा काम गर्ने भाग्यशालीमध्येका एक नेपाली हुन् ।

      मासिक नेपाली रु ३० हजारमा साउदी छिरेका श्रेष्ठको निरन्तरको कठोर परिश्रम र सङ्घर्षले अहिले मासिक करिब पाँच लाख नेपाली रुपैयाँ कमाउन सफल भएका छन्  विभिन्न मुलुकका कामदारहरुसँग प्रतिस्पर्धा गर्दैै आफूलाई अब्बल ठहराएका श्रेष्ठलाई नेपाली भएका कारण पनि कम्पनीमा विश्वासिलो र इमान्दार पात्रका रुपमा समेत हेर्ने गरेको बताउँछन् । यतिमात्र होइन, श्रेष्ठले कम्पनीकै काम लिएर देश विदेशसमेत घुम्ने अवसर पनि पाएका छन् ।व्यावसायिक भेटघाट र कम्पनीका लागि आवश्यक कच्चा पदार्थ खरिदका लागि चीन, पाकिस्तान, भारत, बहराइन, युएई जस्ता मुलुकमा आउने जाने गर्छन् । राम्रो कमाइ भएपछि उनले बुबाआमा, श्रीमती र छोराछोरीलाई समेत खुसी दिन सकेका छन् । एक छोरा र एक छोरी रहेका श्रेष्ठले छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर बनाउने लक्ष्यका साथ आफ्नो कमाइले पढाइ खर्च जुटाइरहेका छन् । जागिरसँगै स्वदेश तथा विदेशमा हुने सामाजिक गतिविधिमा पनि उनी सक्रिय हुने गरेका छन् । आफूले सम्हालिरहेको पदभन्दा अझै माथिल्लो तहमा पुगेर काम गर्ने लक्ष्य बनाएका श्रेष्ठ केही वर्षपछि भने स्वदेशमै केही व्यवसाय सञ्चालन गर्ने योजना बनाएको बताउँछन् ।      श्रेष्ठको काम र तलब हेर्ने हो भने खाडीमा तल्लो तहमा मात्रै होइन यहाँका प्रतिष्ठित कम्पनीको उपल्लो तहमा समेत बसेर काम गर्ने नेपालीहरु पनि छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । कामप्रति निरन्तर समर्पित भई इमान्दारिताका साथ सङ्घर्ष गर्न सके युरोप अमेरिका मात्र होइन श्रेष्ठले जस्तै अरबमै पनि उज्ज्वल भविष्य कोर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । रासस