इटहरी / सुनसरी जिल्लामा पर्ने नेपालकै प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र धाम सप्तकोशी नदी कटानको जोखिममा परेको छ । सप्तकोशीमा आएको बाढीले मन्दिर परिसरको तल्लो भाग कटान शूरु गरे पछि मन्दिर तथा त्यहाँको वस्ती जोखिममा परेको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।
केही समय अघिदेखि बढेको नदीको बहाबले मन्दिरसँगै रहेको गाउँको तल्लो भागमा कटान शूरु गरे पछि मन्दिर र वस्ती जोखिममा परेको र बराहक्षेत्र प्राथमिक विद्यालयनै जोखिममा परे पछि अन्यत्रै सारेको घिमिरेले टेलीफोन सम्पर्कमा ब्लाष्टलाई जानकारी दिए । नदीको पानी घुमेको स्थानमा कटान शूरु भए पनि स्थानीय वासी तथा मन्दिर संरक्षण समितिले सुरक्षाको प्रवन्ध मिलाउन सम्वन्धीत निकायसँग माग गर्ने पहल थालेका छन् । बराहक्षेत्र संरक्षण मञ्चका सल्लाहाकार पण्डित योगश भण्डारीका अनुसार जोखिम क्षेत्रमा ऐतिहासिक बराहक्षेत्र मन्दिरसँगै झण्डै एक सय घर धुरी वासिन्दा बसोबास गर्छन् । समयमै कटानको रोकथामको काम नगरे मन्दिर र गाउँवस्तीनै जोखिममा पर्ने सल्लाहाकार पं. भण्डारीले बताए ।
सचिव घिमिरले टेलीफोनमा दिएको जानकारी अनुसार वस्तीदेखि दुई मिटर नजिकसम्म कटान शूरु भएको छ । उनका अनुसार केही वर्ष अघिदेखि नदीले कटान शूरु गरेको हो ।केही वर्ष अघिसम्म बराहक्षेत्र प्राविको भवन भएको स्थान पनि नदीले कटान गरेको र त्यहाँ रहेको आँपको रुख तथा चौरी पनि बगाए पछि स्थानीय त्रसिद भएका हुन् ।
कटानको डरले जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भवन निर्माणको लागि आएको साडे तेह्र लाख रुपैयाँ बजेटको दुई काठे भवन पनि सुरक्षित स्थानमा बनाइएको सचिव घिमिरले बताए । ‘जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट वार्षिक रुपमा दुइ-अडाई लाख रुपैयाँ आउँछ’ सचिव घिमिरले टेलीफोन सम्पर्कमा भने ‘राम्रै रकमको योजना सहित नदी नियन्त्रण नगरे ठूलै जामिख हुन सक्छ ।’