गौशाला/छ लेनको सडक बनाउनुपर्ने माग गर्दै आज महोत्तरी र धनुषा जोड्ने जनकपुर–भिठ्ठामोड सडकखण्ड अवरुद्ध गरिएको छ । संयुक्त सङ्घर्ष समितिले बिहान ९ बजेदेखि महोत्तरीको जलेश्वर, पिपरा, सहोडवा र धनुषाको विन्धीमा चक्काजाम गरेका छन् । जनकपुरदेखि भिठ्ठामोडसम्म १८.७५ किलोमिटर सडकखण्ड पूर्णरुपमा जीर्ण भएको भन्दै सङ्घर्ष समितिले छ लेनको सडक निर्माण गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेको हो । सो सडकखण्डको चार ठाउँमा अवरोध गरिएका कारण यातयातका साधन चल्न सकेका छैनन् । यसैबीच शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक निर्माणको शिलान्यास गरेक थिए । हुलाकी राजमार्ग परियोजनाका निर्देशक बलराम मिश्रले सबै काम प्रक्रियागत रुपमा नै अगाडि बढेको र साढे दुई वर्षमा सडक स्तरोन्नतिको काम सम्पन्न हुने बताए। रासस