बर्दिवास/शिलान्यास भएको भोलिपल्टै महोत्तरी र धनुषा जिल्लाको सदरमुकाम जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडक निर्माण कार्य अन्योलमा परेको छ । गत शुक्रबार स्तरोन्नतिका लागि भौतिक निर्माण तथा यातायातमन्त्री रमेश लेखकले जलेश्वरमा आयोजित कार्यक्रममा शिलान्यास गर्नुभएको भोलिपल्ट नै सडक क्षेत्रका चोकमा विरोध जुलुस र यातायात अवरुद्ध हुन थालेपछि निर्माण कार्य अन्योलमा परेको हो । पछिल्लो एक दशकयता ठूल्ठूला खाल्डाखुल्डी बनेर यातायात सञ्चालनमा जोखिमयुक्त बनेको यो सडक स्तरोन्नतिका लागि लगातार माग र आन्दोलन हुँदै आएपछि गत शुक्रबार मन्त्री लेखकले ३० महिना भित्र निर्माण कार्य सम्पन्न हुने प्रतिबद्धता सहित शिलान्यास गरेका थिए । तर सडक स्तरोन्नतिका लागि पछिल्लो एक महिनायता आन्दोलन गर्दै आएको महोत्तरी–धनुषा संयुक्त सङ्घर्ष समितिले सडक छ लेनको बन्नुपर्ने माग गर्दै शनिबारदेखि नै विरोध र यातायात अवरुद्धजस्ता आन्दोलन सुरु गरेकाले सडक स्तरोन्नति कार्य रोकिने चिन्ता बढेको सो सडक क्षेत्रका बासिन्दाले बताएका छन् । “लामो समयपछि सरकारले सडकबारे चासो राखेर शिलान्यास गरेपछि सडक स्तरोन्नति हुने आश पलाएको थियो”, महोत्तरीको पिगौना गाविसका निवर्तमान अध्यक्ष महेन्द्र साहले भन‌े–“चोकचोकमै विरोध र यातायात अवरुद्ध गरेपछि अब सडक के बन्ला र ?” सडकको दुरावस्थाले सास्ती खेपेका सडक क्षेत्रका बासिन्दाले अब सडक बन्ने आश जागेपनि लगत्तै सुरु भएको विरोधले निरास बनाएको बताए । अहिले रु ९६ करोड ८५ लाखको लागतमा चार लेनको सडक बनाइने मन्त्रीको घोषणाले साढे दुई वर्षभित्रै राम्रो सडकमा सवारी चलाउन र चढ्न पाइने आश पलाएलगत्तैको विरोधका कार्यक्रमले सडक निर्माण रोकिने हो कि भन्ने चिन्ता बढेको इकरहिया गाविसको अलिपट्टीका नुरुल हशनले चिन्ता व्यक्त गरे । सङ्घर्ष समितिले भने सडक निर्माणकार्य रोक्न नभई यसलाई छ लेनमा स्तरोन्नति गराउन आपूmहरुले आन्दोलनलाई निरन्तरता दिनु परेको बताएका छन् । विगतमै यो सडक छ लेनमा स्तरोन्नति गरिने भनिएकामा अहिले चार लेनको मात्र बन्न लागेपछि सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको सङ्घर्ष समितिका संयोजक रामकुमार शर्माको भनाइ छ । यसैबीच हुलाकी राजमार्ग परियोजनाका निर्देशक बलराम मिश्रले यो सडकको निर्माण कार्यलाई दुई भागमा विभाजन गरी महोत्तरीमा १३ र धनुषामा छ किलोमिटर दूरीमा छलेन र बस्ती नभएका क्षेत्रमा चार लेनको स्तरोन्नति हुन लागेको जानकारी दिए । दुई भागमध्ये महोत्तरीको भिठ्ठामोरदेखि कुटमेश्वरीसम्मको पहिलो खण्ड रोशन कन्सट्रक्सन कम्पनी काठमाडौँ र कुटमेश्वरीदेखि धनुषाको दूधमती पुलसम्मको दोस्रो खण्ड प्रतिभा वाइपी जेपी कन्सट्रक्सनले निर्माण गर्ने सम्झौता भएको कार्यालयले जनाएको छ । यसअघि कैयौँ पटक सडक मर्मतसम्भार र स्तरोन्नतिका लागि ठेक्का दिइएपनि समयमै काम नुहँदा सर्वसाधारणे सास्ती भोग्दै आएका थिए। दुवै जिल्लाको सदरमुकाम जोड्ने मात्र नभएर भारतसँग सिधा सम्पर्क हुने यो सडकको ठूल्ठूला खाल्डाखुल्डीले गर्दा दिनहुँ सवारी दुर्घटनाका घटना भएको थियो । पाँच वर्षअघि सडक कालोपत्र गर्ने ठेक्का पाएको भारतीय भिस्वा विभिएसआर जेभी कम्पनीले काम नगरी ३० महिने ठेक्का अवधि गुजारेर बेपत्ता भएपछि सडक निर्माण अलपत्र परेको थियो । रासस