तरहरा/ इटहरी उपमहानगरपालिकाका ओभरसियर नरेशकुमार श्रेष्ठ घूस लिँदालिँदै पक्राउ परेका छन् । कार्यालय अगाडिनै उपभोक्ता समितिबाट १० हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओभरसियर श्रेष्ठलाई पक्राउ गरेको हो ।
इटहरी–१ स्थित युवा ट्राभल्स एण्ड टुर्समा घुस लिने क्रममा अख्तियारका कर्मचारीले उनलाई पक्राउ गरेका हुन् । ग्रामीण सडकको प्राविधिक अनुगमन गरी कार्य सम्पन्न प्रतिवेदन प्रदान गरिदिएवापत् उपभोक्ता समितिबाट १० हजार घुस लिँदैगरेका श्रेष्ठलाई पक्राउ गरेको अख्तियारका क्षेत्रीय प्रवक्ता रामजी कटुवालले बताए ।
आयोगको पूर्वाञ्चल प्रमुख रविन्द्र शर्मा समेत घुस लिँदैगरेको ठाउँमा पुगेका थिए । उपमहानगरका कर्मचारी होटलमा पक्राउ परेको खबर छिनभरमै सनसनी बन्न पुगेको थियो । नगरपालिकाका कर्मचारीले घुस लिन होटललाई प्रयोग गर्ने गरेको रहस्य समेत बाहिर आएको छ ।रङ्गेहात पक्राउ परेका श्रेष्ठलाई अख्तियारकै गाडीमा लगिएको थियो । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर हुने बुझिएको छ ।श्रेष्ठले यसअघि पनि योजना मिलाइदिने र प्रतिवेदन पारित गरिदिएवापत् घुस माग्ने गरेको स्रोतले बताएको छ ।
उनले उपमहानगरपालिका रहँदा ठूलै कमाइ गरेको जानकारहरु बताउँछन् ।नगरपालिका लगायतका सरकारी कार्यालयका प्राविधिक तथा कर्मचारीहरुले आर्थिक चलखेल गरेरमात्र योजना पारिदिने र भुक्तानी दिने गरेको गुनासाहरु आम भुक्तभोगीले गर्ने गरेका छन् ।