पेन्सन रकम सामाजिक काममा
बाबियाचौर (म्याग्दी)/ म्याग्दीका एक पूर्व बेलायती गोर्खा सैनिकले आफूले पेन्सनबापत प्राप्त गर्ने रकम सामाजिक क्रियाकलापमा लगाएका छन् ।
हिस्तान–३ टिकोटका चन्द्रबहादुर पुनले बेलायत सरकारले पेन्सनबापत दिने ६० प्रतिशत रकम जन्मगाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा उपलब्ध गराउने गरेकाे हाे । हाल पोखरा–३ नदीपुर निवासी गोर्खा सैनिकको सेवा निवृत्त मेजर पुनले वार्षिक रु १५ लाख पेन्सन पाउछन् ।
गाउँको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि चन्द्रबहादुरले विभिन्न समयमा करिब रु ५० लाख सहयोग गर्नुभएको स्थानीय टिकोट माविका प्रधानाध्याकपक प्रदीप पुनले जानकारी दिए । टिकोट माविमा हालै नयाँ भवन निर्माण गर्न रु १८ लाख नगद उपलब्ध गराउनुभएका पुनले विसं २०५३ मा माध्यमिक तहको कक्षा सञ्चालन गर्नका लागि दुई लाख सहयोग गरे ।
महभिर टिकोट सडक निर्माणका लागि रु तीन लाख र टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न रु ५५ हजार नगद सहयोग गरेका पुनले करिब एक महिना श्रमदान गरेका थिए । पुनको सक्रियतामा टिकोटमा नैनसिङ सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन भएको छ ।
बुबा नैनसिङको नाममा क्लिनिक सञ्चालन गर्न पुनका दाजुभाइ र परिवारले रु २१ लाखको अक्षयकोष स्थापना गरेकाे छ । कोषको रकमबाट क्लिनिकका दुईजना कर्मचारीको तलब र औषधि खरिद गरिँदै आएको छ ।
क्लिनिकमा सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा टेलिमेडिसिन उपकरण जडान भएको छ । इन्टरनेट र वेभ क्यामेराको सहायताले काठमाडौँको मोडल अस्पतालका चिकित्सकले टिकोटका बिरामीको उपचार गर्दै आएका छन् ।
स्वास्थ्य संस्था टाढा हुँदा सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउन नसकेका टिकोट र घराम्दीका बासिन्दालाई क्लिनिकबाट सुविधा पुगेको छ । वार्षिक रु १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक सङ्घसंस्थालाई सामाजिक कामका लागि रु ७२ लाख सहयोग गरिसकेका छन् ।
कुनै पनि सङ्घ सङ्गठनको पदमा नबसेका पुनले सामाजिक काममा सहयोग गर्ने आफ्नो इच्छा भएको बताए । रासस