जुम्ला/जिल्ला अदालत जुम्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा आउने गरेको पाइएको छ । sambandha bichhed जिल्ला न्यायाधीश कृपासुर कार्कीको अध्यक्षतामा विहिबार आयोजित पत्रकार भेटघाटमा यो कुरा जानकारी दिइएको हो । अदालतमा यो वर्ष जमानी रहेका र दर्ता गरिएका ७४ मुद्दामध्ये ३५ वटा सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा रहेको स्रेस्तेदार अधिकृत पुष्पराज पाण्डेयले जनाउनुभयो । ७४ मुद्दामध्ये देवानी ४०, व्यक्तिवादी फौजदारी २४, सरकारी फौजदारी मुद्दा १० रहेकामा १२ वटा फछ्र्यौैट भइसकेको अधिकृत पाण्डेले बताए । उहाँका अनुसार गत वर्षका ८० मुद्दामा ३२ फैसला भएको र ४८ यो वर्षको जिम्मेवारीमा आएका छन् । यसरी दर्ता भएका मुद्दामा केही मुद्दा विशेष प्राथमिकतामा पर्ने अदालतले जनाएको छ जसमा थुनुवा, बालबालिका, छुवाछूत, ७५ वर्षमाथिका व्यक्ति र महिलावादी मुद्दालाई छिटो फैसला गरिनेछ । यसैगरी, नागरिकलाई एक घन्टाको तारिख तोक्ने र नक्कल दिने सेवासमेत दिइएको जनाइएको छ । जुम्लामा सानै उमेरमा विवाह गर्ने, बहुविवाह गर्ने र यसलाई संस्कारका रुपमा लिँदै आएकाले बढी सम्बन्ध विच्छेदका मुद्दा आउने गरेको अदालतले औँल्याएको छ । गत वर्ष र चालु आव गरी जुम्ला अदालतमा दुईजना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएको स्रेस्तेदार अधिकृत पाण्डेले बताएको छ । रासस