madhav ghimire, mantri

धरान/आईतबार त्रिशुलीमा दुर्घटनामा परि बेपत्ता भएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको अबस्था अझै पत्तालाग्न सकेको छैन । सुरक्षा निकायले खोजीकार्य जारी राखेपनि घिमिरे र उनका दुई भाईको अबस्था अझै अज्ञात छ ।

उनीहरु चढेको बा ९ च १५३१ नम्बरको स्कोर्पिओ गाडी आइतबार अपराह्न पौने पाँच बजेतिर चितवनको दारेचोक गाविस–३ खोप्टेभीरमा दुर्घटनामा परेको थियो ।घिमिरेसहित सातजना सवार गाडी पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको थियो । पूर्वगृहमन्त्री घिमिरे, उनका भाइद्वय मोहन र प्रकाश त्रिशूलीमा बेपत्ता भएका छन् ।

गाडी चालक प्रहरी हबल्दार विष्णु राई गम्भीर घाइते भएका छन्,उनको अहिले उपचार भईरहेको प्रहरीले जनाएको छ । खिलराज रेग्मी मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्रमन्त्री रहेका घिमिरे त्यसअघि मुख्यसचिव थिए ।मुस्ताङबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

[caption id="attachment_15441" align="alignnone" width="944"]madhav ghimire car accident फाइल तस्विर[/caption]

उनीहरू तीनैजनाको शव त्रिशूली नदीकिनारमा फेला परेको उद्धारकार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाले बताए ।गम्भीर घाइते चालक राईलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । पूर्वगृहमन्त्री घिमिरे सोह्र श्राद्ध पारेर मुस्ताङको कागबेनीमा आफ्नो बुबाको श्राद्ध गरी आमालाई मुक्तिनाथ मन्दिर दर्शन गराई घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।