ansanबिर्तामोड / मेडिकल कलेज सञ्चालनको अनुमती नदिन लगायतका माग राख्दै डा. गोविन्दकेशी आमरण अनसन बसीरहेका बेला झापाको बिर्तामोडमा भने एक व्यक्रि अनुमति दिनु पर्ने माग राखेर अनसन शुरु गरेका छन् ।  बी एण्ड सी हस्पिटललाई मेडिकल कलेजको स्वीकृति दिन माग गर्दै स्वास्थ्य, शिक्षा नागरिक सरोकार समाजका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली बुधबारदेखि आमरण अनसनमा बसेका हुन् । उनले काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी केसी अनसन बसे आफू पनि आमरण अनसन बस्ने बताएका थिए । मेची अञ्चलमा एउटा मेडिकल कलेज जरुरी भएको भन्दै बी एण्ड सीलाई स्वीकृति दिनु पर्ने उनले बताए । पूर्वाधारका साबले यो हस्पिटल सुबिधा सम्पन्न रहेको, मेडिकल कलेजका सबै मापदण्ड पुरा गरेको भन्दै अनसन बसेको उनले बताए । डा. केसीले राखेका कतिपय माग राजनीतिक भएको भन्दै उनले स्वास्थ्य क्षेत्र सुधारका कुरा भने जायज रहेको धारणा राखे । मेची अञ्चलमा रहेका २६ लाख जनसंख्याका लागि पनि एउटा मेडीकल कलेज आवश्यक पर्ने उनको भनाई छ । धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शिक्षण अस्पताललाई सम्बन्धन प्रदान गर्न सक्ने अधिकार प्रदान गर्नु पर्ने, सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई निजी अस्पतालमा गई काम गर्न प्रतिबन्ध लगाउनु पर्ने, सरकारी अस्पतालहरुमा २४ सै घण्टा सेवा उपलब्ध हुनु पर्ने, मापदण्ड पूरा नगरेका निजी अस्पताल, नसिङहोम, क्लिनिक बन्द गर्नु पर्ने र स्वास्थ्य सेवा शुल्क वापतको सरकारले लिने ५ प्रतिशत कर हटाउनु पर्ने माग मैनालीको छ । मैनाली बी एण्ड सी हस्पिटल भित्र अनसनमा बसेका छन् । उनले यो आन्दोलनमा कसैसँग आर्थिक लाभ नलिएको दावी गरे । अनसनमा बसेका मैनाली बी एण्ड सीसँग कुनै सम्बन्ध नभएका ब्यक्ति हुन् । उनी बिर्तामोडका अगुवा नागरिक हुन् ।