धरान / सामुदायिक सेवा केन्द्रका केही महिलाहरुले श्रीमान र श्रीमती बीच सम्बन्ध बिच्छेदको वातवारण सिर्जना गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै धरान–१५ का अमर गुरुङले आफ्नो श्रीमतीले विना कारण जानकारी बिनै आफूसँग सम्बन्ध बिच्छेद माग्नुको पछाडी केन्द्रका महिलाहरुको हात रहेको बताए । गुरुङले केन्द्रकी तारा शाक्यको बहकाउमा आएर आफ्नो श्रीमती रुक्साना उदास गुरुङले सम्बन्ध बिच्छेद मुद्दा अदालतमा दर्ता गराएको आरोप लगाए ।

pidit

उनले श्रीमतीसँग अहिलेसम्म झैझगडासमेत नभएको एकैपटक सम्बन्ध बिच्छेदको अदालतबाट पत्र आउँदा आफू नै अचम्मित बनेको बताए । ‘शाक्यसँग मराउमा जानु छ भनेर मसँग असोज १ गते श्रीमतीले भनेकी थिइन् । तर, शाक्यले इनरुवा लगेर सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न लगाएछन् ।’ उनले भने । श्रीमती असोज ६ गतेदेखि घर छाडेर हिडेको र हालसम्म कहाँ छ कता छ भन्नेसम्म थाहा नभएको बताए । श्रीमतीले घरबाट एकाएक हराएपछि इलाका प्रहरी कार्यालय धरानमा गएर निवेदनसमेत गरेको तर, निवेदन नलिएको उनले बताए । त्यस बारेमा शाक्यलाई भन्दासमेत वास्ता नगरेको उनले बताए । रुक्सानाले अदालतमा दिएको फिराद पत्रमा भने आफूलाई खानलाउनसमेत नदिने, हेलोहोचो गर्ने, कुटपिट गर्ने गरेको भनेर उल्लेख गरेकी छन् । त्यही कारण खुलाउँदै उनले असोज २ गते सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकी छन् ।तर, यस विषयमा शाक्यले प्रष्टाउँदै भनिन् ‘लोग्ने स्वास्नीको झगडा भइरहँदो रहेछ । त्यसपछि डिभोर्स गर्छु भन्दै सामुदायिकमा आइन् । हामीले धेरैपटक उस्को श्रीमतीलाई सम्झाउन खोज्यौं । मानिनन् । त्यसपछि हामीले यहाँबाट डिभोर्स हुँदैन् । अदालतले गर्ने हो भनेपछि उनी स्वयम् अदालत गइन् । पीडित भएको हिसावले हामी साँची बसिदिएको हो । त्यसमा हाम्रो केही गल्ती छ जस्तो मलाई लाग्दैन् ।’ यता गुरुङले भने आफ्नो श्रीमतीलाई भदैनी भन्दै लिएर जाने गरेको र त्यसमा आफूले पनि कुनै मतलव नगरेको तर, अहिले आएर एकैचोटी अदालतबाट पत्र आउँदा उनको नियत प्रष्टिएको बताए । छिमेकी सुरेन्द्र परालीका अनुसार अमर र उनको श्रीमतीबीचमा झैझगडा भएको आफूलाई थाहा छैन् । ‘झैझगडा अहिलेसम्म सुनिएको छैन् ।

म उसको छिमेकी हुँ ।’ उनले भने ‘केन्द्रमा बसेका महिलाको काम सम्झाउने बुझाउने हो कि उल्टो घर भाड्ने हो ?’ शाक्यका विरुद्धमा धरान–१५ का राजकुमार श्रेष्ठ र धरान–८ का राजेश श्रेष्ठलेसमेत घर भाड्ने कार्यमा संलग्न भएको आरोप लगाए । पीडित गुरुङले आफूले के चाही गल्ती गरेको कारण श्रीमतीले सम्बन्ध बिच्छेद गर्न चाहेको हो त्यो बुझ्ने बताए । ‘श्रीमती भेटियोस्, म उसँग गफ गर्न चाहान्छु । किनकी मेरो पत्नीलाई उचालेको जस्तो लाग्छ ।’ उनले भने । उनका अनुसार श्रीमतीले भएको ८ तोला सुनको गहना, २ लाख रुपैया नगद र अन्यहरुबाट सापटीबापत १२ लाख रुपैया लगेको छ । सापटी दिनेहरुसमेत पत्रकार सम्मेलनमा सहभागी बनेका थिए । उनीहरुले रुक्सानाले सुन किन्ने भन्दै रकम लिएर गएको बताएका छन् । केन्द्रकी कोषाध्यक्षसमेत रहेकी शाक्यले भने उसले सम्बन्ध बिच्छेद गर्दा श्रीमानको कुनै पनि श्रीसम्पत्ति नचाहिने भनेर उल्लेख गरेको बताइन् । उनले अमरले आफ्नै सासुसँग नाजायज सम्बन्ध राखेको कारण रुक्सानाले त्यो थाहा पाएरै सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेको आरोप लगाइन् ।

‘ज्वाई र सासुबीचको नाजायज सम्बन्ध थाहा पाएरै डिर्भोसको लागि हामी भए ठाउँमा आइन् ।’ उनले भनिन् ‘हामीले आमा छोरी बीचमा छलफलसमेत गराएको थियौं । त्यो बेला नै पनि उनीहरुले त्यो पोलापोल गरेका थिए ।’उनले रुक्साना केटाकेटी नभएको र आफूहरुले सम्बन्ध बिच्छेद गर भनेकै भरमा त्यो गर्ने अवस्थाको नभएको बताइन् । पीडितले न्याय माग्दै आएपछि आफूहरु साँची बसिदिएको बताइन् । ‘छुटाउने कुरामा हामी लाग्दैनौं । हामी जुटाउने काम गर्ने हो । पीडितको लागि जहाँसुकै पनि साँची बस्न तयार छौं । नेपाल भरी नै पनि पीडितको लागि सहयोग गर्न तयार छौं ।’

उनले भनिन् । अन्यले लगाएको आरोपको विषयमासमेत उनले खुलेर खण्डन गरिन् । राजकुमार श्रेष्ठले लगाएको आरोपको विषयमा उनले भनिन् ‘भाइ बुहारीलाई जर्वजस्ती छुटाउने कार्य गरेको पाइएपछि सहयोग गरेको हो । त्यसमा राजकुमारकै गल्ती छ । भाइले बुहारीसँग छुट्दिन भन्दा पनि जर्वजस्ती गरेर छुटायो ।’यता राजेशको विषयमासमेत उनले भनिन्, ‘एकल महिलालाई बाटोमा, घरमा जथाभावी कुटपीट गरेपछि न्यायको लागि हामीसँग आइन् हामीले सहयोग गरेका हौं ।’ उनले आफू त्यसमा पनि साँची बसेको कुरा सत्य भएको बताइन् ।