गुलरिया (बर्दिया)/सतन्जीमा ६० बिघा क्षेत्रफलमा फैलिएको सत्खलुवा (सतपटुवाल) ताल संरक्षण गर्नुपर्ने माग गरिएको छ । satkhaluwa tal बाह्रै महिना पानी नसुक्ने सो ताल अतिक्रमणमा पर्ने गरेको स्थानीयवासीको गुनासो छ । पौराणिक कथानुसार देवीदेवताले मान्छे सँगै खेल्दै हराउने अर्थात् सत्पताउने भएकाले सो तालको नाम सतपटुवाल रहेको हो । चुरे क्षेत्रको नजिकै अवस्थित धधवार गाविसमा रहेको प्राकृतिक सत्खलुवा तालमा कसैको नजर नपर्दा ओझेलमा परेको हो । नेपालमा सिमसार क्षेत्रको संरक्षणका नाउँमा अरबौँको खोलो बगाए पनि जोखिममा रहेका प्राकृतिक सिमसार क्षेत्र सुक्दै गएको छ । दाताले सिमसार क्षेत्रको संरक्षणमा दीर्घकालीन योजना नल्याउँदा सिमसार क्षेत्रमा गरिएको लगानी खेर गएको धधवारका तुलसीराम थारु बताए । “हिउँदमा चारैतिरको पानी सुक्दा समेत सत्खलुवा तालमा पानी रहने हुँदा जरायो, बाघ, विभिन्न चराचुरुङ्गीलगायत अजिरङ्गरको समेत ताल क्षेत्र वासस्थान बनेको छ”–उनले भने । प्राकृतिक सौन्दर्य र विशेषता बोकेको सत्खलुवा ताल पूर्वपश्चिम राजमार्गको उत्तर चुरेको काखमा अवस्थित छ । दुर्लभ रातो कमलको फूल हेर्न स्थानीय पर्यटक यहाँ आउने गर्छन् । ताल र त्यहाँको प्राकृतिक सुन्दरताको संरक्षण गरिदिन स्थानीयवासीले सरकार र सङ्घसंस्थासँग माग गरेका छन् । रासस