धरान/मोरङको उत्तर–पश्चिममा अवस्थित याङ्सिला गाविसमा रहेको चिउरीभञ्ज्याङको नाम शायदैले सुनेका होलान् । विकासमा पछि परेको याङ्सिला जति पिछडिएको छ, त्यति नै पछाडि परेको छ चिउरीभञ्ज्याङ । [caption id="attachment_17464" align="alignnone" width="640"]singhadevi माेरङ मै रहेकाे पर्यकटीय स्थल सिंहदेवी । फाइल तस्बिर[/caption] समुद्री सतहबाट १२ सय मिटरभन्दा माथि रहेको चिउरीभञ्ज्याङ पूर्वको पर्यटकीय भेडेटारजस्तै चिसो छ । भेडेटारलाई जस्तै भूइँकुहिरोले चिउरीभञ्ज्याङलाई पनि छोप्छ । छिनमै हुस्सू, छिनमै बादलले ढाक्ने चिउरीभञ्ज्याङ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । जसरी याङ्सिला सदरमुकामबाट हेपिएको छ, विकासमा पछाडिएको छ, उसैगरी चिउरीभञ्ज्याङ पनि पर्यटकको पर्खाइमा बसेको छ । सुनसरीको धरानसँग सिमाना जोडिएको याङ्सिलाको निकटता धरानसँग जति छ, त्यति निकटता मोरङको सदरमुकाम विराटनगरसँग छैन । २०६८ को जनगणनाअनुसार यहाँका ७ हजार ८ सय ४६ जनाको सन्निकटता धरानसँग जति छ, उति विराटनगरसँग छैन । यहाँका कृषिजन्य उत्पादनहरु मोरङका शहरमा भन्दा धरानका गल्लीहरुमा भेटिन्छन् । याङ्सिलाको सागले धनकुटास्थित सिधुवाको सागको स्वादलाई बिर्साइदिन्छ । त्यसैले पनि धरानसँग याङ्सिलाको अपेक्षा धेरै छ । धरानको भानुचोकबाट १६ किलोमिटरको दुरीमा रहेको चिउरीभञ्ज्याङले विकास पर्खिरहेको छ । स्थानीयले चाहेर मात्रै चिउरी भञ्ज्याङको विकास हुन सक्दैन, राज्य नै लाग्नुपर्ने तर्क स्थानीयको छ । याङ्सिला मोरङको यस्तो गाविस हो जहाँ साढे तीन सय प्रजातिका वनस्पतिहरु पाइने स्थानीयको दावी छ । लेकालीदेखि तराईमा पाउने वनस्पतिको भण्डार नै हो भन्दा पनि फरक नपर्ने स्थानीय शिक्षक कुमार विक बताउँछन् । उनका अनुसार साल, सखुवादेखि रानीचाप, चोथ्रो, चिउरी, पटमेरो, उत्तिस, सत्तिसाल, चिमललगायतका वनस्पतिहरु पाइन्छन् । ‘लेकाली र तराईका वनस्पति सबै पाइन्छन्’, उनी भन्छन्, ‘त्यति मात्रै हैन, केही प्रजातिका गुराँसहरुसमेत याङ्सिलाको अर्को विशेषता हो ।’ सरकारी पहुँचभन्दा टाढा हुँदा याङ्सिलाको महत्व घटेको स्थानीय एवम् पूर्व गाविस अध्यक्ष टेकबहादुर लिम्बू बताउँछन् । सदरमुकामले कहिल्यै नचिनेको याङ्सिलामा भौगोलिक रुपमा २५० मिटरदेखि १८ सय मिटरसम्मका टाकुराहरु छन् । हरेक टाकुराले विकासलाई मात्रै पर्खिरहेको छैन, प्रचारप्रसारसमेत खोजिरहेको अध्यक्ष लिम्बू बताउँछन् । मधेशका समथर भूभागलाई नियाल्न सक्ने टाकुरेडाँडादेखि दुम्सेढुङ्गा, जगरेडाँडा, तोपथुम्का र याङ्सिला डाँडा छोप्ने भूइँकुहिरोले हरेक समय स्वागत गरिरहेको हुन्छ तर सडकको अभावमा बाह्य त के, आन्तरिक पर्यटकहरुसमेत त्यस टाकुरामा पुग्न नसकिरहेको स्थानीय बताउँछन् । साइक्लिङ ट्रयाक, हाइकिङको लागि उत्तम स्थान मात्रै हैन, सहज र सस्तो मूल्यमा घुम्न सकिने सावित्री माविका शिक्षक बासुदेव पौडेल बताउँछन् । धरानबाट ५/६ घण्टाको हिँडाइपछि चिउरीभञ्ज्याङ पुग्न सकिन्छ । तराईका समथर भूभाग हेर्दै भूइँकुहिरोसँग लुकामारी गर्न सकिने यस्ता टाकुराहरुको प्रचार गर्न अभैm स्थानीयले सकेका छैनन् । ‘सरकारी पहुँचमा हाम्रो पहुँच पुगेन’, पौडेल भन्छन्, ‘सरकारी निकायहरुले याङ्सिलालाई बेवास्ता गरे ।’ राई, मगर, तामाङ, लिम्बू जातिहरुको बसोबास रहेको याङ्सिलामा एउटा मावि, निजी र सरकारी गरेर २ वटा निमावि तथा ५ वटा प्रावि छन् । विशेष गरी परम्परागत कृषि पेशामा रहेका त्यहाँका बासिन्दाले पछिल्लो समय आधुनिक कृषि खेतीसमेत अङ्गाल्न थालेका छन् । कागती खेती गरिरहेका धरानका दोर्पध्वज राई भन्छन्, ‘वातावरणीय हिसाबले निक्कै राम्रो छ । हाइकिङ र साइक्लिङ गरेरसमेत जान सकिन्छ ।’ नमूना पर्माकल्चर सिकाइ थलो नामक कृषि संस्था अहिले अग्र्यानिक खेतीमा लागिरहेको छ । याङ्सिलालाई कृषिसँग जोड्न अहिले राई लागिपरेका छन् भने पूर्वअध्यक्ष लिम्बूसमेत यो अभियानमा जुटेका छन् । याङ्सिलालाई होमस्टेको रुपमा चिनाउन स्थानीय लागिपरेका छन् ।