काँकडभिट्टा/स्थानीय टाङ्टिङ खोलामा निर्माण शुरु गरिएको पुल पाँच वर्ष बितिसक्दा पनि अधुरो रहँदा झापा खुदुनाबारीका बासिन्दा सास्ती खेप्न बाध्य छन् । जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड र शनिश्चरे सडक जोड्ने पुल नहुँदा सबारीसाधन दुर्घटनाको जोखिम मोलेर खोला छिचोल्दै ओहोरदोहोर गर्छन् भने पैदल यात्रीले बाँसे पुलको सहारा लिने गरेका छन् । विसं २०६८ मा १६ वटामध्ये आठवटा पिल्लर बनेपछि निर्माण रोकिएको टाङ्टिङ पुलको अधुरो काम वर्षौंसम्म अलपत्र पर्दा खुदुनाबारीवासीले सास्ती खेप्नुपरेको हो । सो क्षेत्रका सांसद प्रेमबहादुर गिरीका अनुसार सुरुमा ‘बक्स कज्वे’ भनेर ठेक्कामा दिइएको टाङ्टिङ पुललाई डिभिजन सडक कार्यालयले मौखिक आदेशमा ठेकेदारलाई कज्वेको साटो पुलकै काम गर्न लगाएका कारण निर्माणमा बजेट अभाव भएकाले पुल अलपत्र भएको हो । सरोज निर्माण सेवाले करिब अढाइ करोडको लागतमा पुलका नौवटा पिलरमा स्ल्याव हालिसकेको छ । तर बाँकी पिलरमा स्ल्याव हालेर पुललाई सम्पन्न गर्न गत असारमा रु सवा दुई करोडमा नयाँ ठेक्का गरिएपनि अहिलेसम्म काम सुरु भएको छैन । दमकस्थित डिभिजन सडक कार्यालयले बजेट अभावका कारण एउटै पुल निर्माण गर्न दुईपल्ट ठेक्का लगाउनुपरेको स्वीकार गरेको छ । कज्वेलाई छुट्याइएको बजेटले पुल बनाउने खर्च नपुगेको कुरा सुरुमा सडक कार्यालय र निर्माण कम्पनीले गुपचुप राखेका थिए । आगामी दुई वर्षमा बाँकी काम सक्ने सर्तमा पुलको नयाँ ठेक्का पुरानै निर्माण कम्पनीले पाएको छ । सवा दुई करोडमा पुलको ठेक्कासम्बन्धी सम्झौता गत असारमा सम्पन्न भइसकेको र तिहारपछि निर्माण कार्य हुने डिभिजन सडक कार्यालयको दाबी छ । “जनताले यो पुल अधुरो हुँदा सबैभन्दा बढी गुनासो मसँग गरेका छन्”, सांसद गिरी पनि अबचाहिँ पुलको काममा धोका नहुने आशा गर्दै भन्छन् – “टाङ्टिङ पुललाई जसरी पनि पूर्ण बनाउने मेरो प्रयास छ ।” पुल निर्माणमा विलम्ब भएकामा खुदुनाबारीवासी चिन्तित छन् । डिभिजन सडक कार्यालयका प्रमुख राजेन्द्र साह अब अधुरो पुलको निर्माण ठेक्का लागिसकेका कारण काम सम्पन्न हुने बताउछन् । “आधा पुलको निर्माण अर्कै टेन्डरबाट भएको थियो, अब बाँकी काम नयाँ टेन्डरबाट बन्ने टुङ्गो लागिसकेको छ,” उनले भने ।