कञ्चनपुर/समाजका अगाडि कुरा गर्न लजाउने कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० खल्ला बस्तीकी देवा दमाईं सामाजिक कार्यमा अग्रसर हुन थालेका छन् । dalit बस्तीमै चार वर्षअघि गठन भएको घटाल मुक्त हलिया समूहमा आबद्ध भएपछि उनी समाजका अगाडि खुलेर कुरा गर्न सक्ने भएको हो । समूहमा हप्तामा हुने बैठकमा बोल्न सिकेपछि अधिकारका लागि सम्बन्धित निकायमा प्रतिनिधित्व गर्न देवा अगुवा भएर आएको छ । समूहमै आबद्ध नहुँदा लाजले कुरा गर्न सक्दैनथे उनले भने, “दुःख परे पनि अरुलाई गुहारेर काम गराउनु पथ्र्यो । चुलो चौकामै पूरा दिन बित्थ्यो तर अहिले सबै परिस्थितिको सामना गर्न सक्ने भएको छु ।” समूहमा हुने बैठकले बोल्न सिकाए पछि बस्तीमा खानेपानी, सडक निर्माण र बालबालिकाको छात्रवृत्तिबारे बुझ्न यहाँका महिला अग्रसर हुन थालेका छन् । “स्थानीय निकायबाट पाउने सेवाका लागि समस्या लिएर नगरपालिका कार्यालयमा समेत धाउँदै आएका छौँ” जानकी दमाईंले भने  । बस्तीमा कार्यक्रम लिएर आउने दातृ निकायका कर्मचारीसँग समेत खुलस्त रुपमा कुरा राख्ने गरेकाले ती निकायले सहयोग पनि गर्न थालेका छन् । पुरुषले मालिकको हलो जोत्नु पथ्र्यो उनले विगत सम्झदै भने, महिलाले मालिकको घरको काम गर्नुपथ्र्यो । मालिकले खान र लगाउनका लागि जे जति दियो त्यसमै सन्तोष गर्नु पथ्र्यो । आन्दोलन गरेर मालिकको घरबाट छुटकारा पायौँ । आन्दोलनमा लागेपछि समूहमा आबद्ध भई अधिकार मात्रै पाएका छैनौँ मनुदेवी दमाईंले भने,  “घर, जग्गा खरिद गर्नुका साथै स्वरोजगार समेत भएका छौँ ।” “ सङ्गठित भएकै कारण हलिया र मालिकबीच विगतमा भएका द्वन्द्व समेत सामाधान भएर समाजमा मिलेर बस्दै आएका छौँ” उनले भने । समूहकै निर्णयमा बस्तीका निरक्षर महिलालाई अनौपचारिक कक्षामार्फत साक्षर गराई अधिकारका लागि अग्रसर गराउन यहाँ महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अधिकारका लागि मात्रै नभएर सामूहिक बचतसङ्कलनबाट आर्थिक रुपमा समेत यहाँका महिला सक्षम भएका छन् । उनीहरुले बचत रकम न्यून ब्याजमा परिचालन गरी सिलाइकटाइ, खुद्रापसल, र घुम्ती पसल राखेर आम्दानी समेत गर्न थालेका छन् । “समूहलाई सहकारीमा परिणत गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ” देवकी दमाईंले भने । सङ्गठित रुपमा अगाडि बढ्दै आएका दलित समुदायका महिलाले गरेको प्रयासले यहाँका १९ मुक्त हलिया परिवार पुनः स्थापित भएका छन् । उनीहरुले बस्तीका विपन्न अवस्थाका ११ घरमा शौचालय पनि निर्माण गरेका छन् । घर खर्चका लागि भारततर्फ जानेगरेका परिवारलाई गाउँमै स्वरोजगारका लागि उत्प्रेरित गरेपछि अहिले धेरैले यहाँनै अन्य व्यवसाय गरेर आम्दानी गर्न थालेको उल्लेख गर्दै बस्तीका अगुवा बहादुर नेपालीले भन्छन् , “महिलाकै प्रयासमा बस्तीको मुहार फेरिँदै छ ।” रासस