biratnagarमोरङ / मोरङको विराटनगरलाई महानगरपालिका बनाउन माग गर्दै नेकपा एमालेको पहलमा बुधबार नै ‘महानगरपालिका निर्माण पहल समिति’ खडा भएको छ । पार्टीका जिल्ला सचिवालय सदस्य रामलाल साहको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरी महानगर बनाउन पहलकदमी थाल्ने निर्णय भएको एमाले जिल्ला अध्यक्ष महेश रेग्मीले बताए । उनले समितिले अन्यदलसँग पनि कुरा राखेर संयुक्त अभियान पहल समिति बनाउने तथा जिल्लाका सवै ठाउँमा यसबारे छलफल र अन्तरक्रिया गराउने जनाए । नेपाली काग्रेंसले महानगर बनाउने बिषयलाई चासो नदिएको भन्दै नेकपा एमाले, माओवादी, मधेशवादी सहितका ६ दल भने विराटनगरलाई महानगर बनाउनु पर्ने पक्षमा उत्रिएका छन् । एमालेको अगुवाइमा कांग्रेस बाहेकका ६ दलले मंगलबार जिल्ला प्राविधिक सहयोग समितिलाई ज्ञापनपत्र बुझाएर जनसंख्या पुग्नेगरी वरपरका गाविस समेटेर महानगरपालिका बनाउन माग गरेको छ । समितिले विरानगरमा बैजनाथपुर गाविस र बुधनगरको १,३,४,५ नम्वर वडा गाभेर महानगरपालिका बनाउने भन्ने कुरा आयोगमा पठाएर महानगर बन्नबाट पन्छाउने काम गरेको कांग्रेस बाहेकका दलको भनाई छ । जनसंख्या र वार्षिक आय नपुग्ने गरी कांग्रेसको आग्रहलाई स्वीकार्दै झारो टार्नका लागि महानगरको नाम पठाउनुको कुनै अर्थ नभएको भन्दै प्रावधान पुग्ने गरी वरपरको क्षेत्र समेट्न माग गरिएको छ । यसअघिदेखि नै कांग्रेससँगको समेत सोही सहमति रहेको भएपनि बीचमा धोका दिएको उनीहरुको टिप्पणी छ । रिङरोडले छोएको टंकीसिनुवारी, हात्तीमुढा, लखनतरी, बैजनाथपुर, झोराहाट, कटहरी, भागीगछ, बुधनगरलाई विराटनगरमा समेट्नुपर्ने माग राखिएको छ ।