स्तानबुल । टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ ।

सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए । विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए । उनीहरुले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाआनका वरिष्ठ सल्लाहकार यासिन अक्तायले अन्त्येष्टि सभामा बोल्दै हत्या गरिएका पत्रकार जमाललाई न्याय दिन आह्वान गरे ।

साउदी पत्रकार खशोग्गी कामको सिलसिलामा इस्तानबुल आएका बेला गत अक्टोबर २ तारिखका दिन हत्या भएको थियो । उहाँको शवसमेत अहिलेसम्म बेपत्ता रहेको छ । स्तानबुलका प्रमुख अभियोक्ताका अनुसार पत्रकार खशोग्गीको शव बेपत्ता पारेर नष्ट गरिसकिएको छ । बिहीबार मात्रै साउदी अरबका सार्वजनिक अभियोक्ताले पाँच जनालाई यस घटनामा दोषी रहेको दावी सहित मृत्युदण्ड दिन माग गरेका थियो । (रासस÷सिन्ह्वा)