ताप्लेजुङ/ ताप्लेजुङ कारागारका १९ जना कैदीबन्दीको आँखामा दृष्टि दोष देखिएको छ । सोमबार निःशुल्क आँखा परीक्षण गरिएका ७३ मध्ये १९ जनामा दृष्टि दोषको भेटिएको हो ।
जिल्ला कारागार कार्यालयको आयोजना र नेपाल नेत्रज्योति सङ्घको प्राविधिक सहयोगमा गरिएको परीक्षणमा ३ जनाको आँखाको रेटिनामा समस्या देखिएको आँखा चिकित्सक देउमान थेबेले बताए ।
कारागारका निमित्त प्रमुख धनिराम सिंहका अनुसार रेटिनाको समस्या भएका कैदीको थप उपचार कारागारले नै निःशुल्क गरिदिनेछ ।
त्यस्तै ८ जनालाई चस्मा प्रदान गरिएको छ । अधिकांश कैदीबन्दी ढाका बुनाइमा संलग्न रहेका कारण आँखाको समस्या देखापरिरहने सिंहको भनाइ छ । आँखालाई स्वस्थ राख्नका लागि सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकले बताए ।
सानो धागो नजिकबाट एकोहोरो हेरिरहनुपर्ने र त्यसरी हेर्दा कर्नियामा रहेको आँशु सुक्न गई आँखा सुख्खा भई दृष्टि दोष हुने चिकित्सक थेबेले बताए । ताप्लेजुङ कारागारभित्रै आँखा परीक्षण गरिएको यो पहिलो पटक हो ।
२५ जनाको क्षमता रहेको कारागारमा अहिले १०६ जना कैदीबन्दी छन् ।