मोरङ / नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले विभिन्न कार्यक्रम गरेर १४ औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
त्यसक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको बताए । उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नजिता ल्याउँदै उत्कृष्ट संस्थाको रूपमा स्थापित भएको उल्लेख गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्कीले नोबेल अस्पताल १ नम्बर प्रदेशको मात्र नभई मुलुककै गर्व गर्न लायक संस्था बनेको जिकिर गरे ।
नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षाक्षेत्रमा रेकर्ड ब्रेक गर्दै आएको नोबेललाई विश्वकै उदाहरणीय बनाउने बताए । त्यसक्रममा २० कर्मचारी र २४ विद्यार्थीलाई पुरस्कृत गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, नोबेल अस्पतालका अध्यक्ष लोेकनाथ न्यौपाने, सञ्चालक डा.सुनिल शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।
कर्मचारी र विद्यार्थीहरूलाई प्रमाण–पत्रका साथै जनही ५ हजारदेखि २५ हजारसम्म नगदसहित पुरस्कृत गरिएको अस्पतालका प्रशासकीय अधिकृत दीपेश राईले बताए ।