विजयपुर/ दमका रोगीलाई राज्यले कुनै सहुलियत नदिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धित चिकित्सकहरूले बताएका छन् । प्रत्येक वर्ष नोभेम्बर २२ अर्थात् मंसिर ६ गते मनाउँदै आएको विश्व दम रोग दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका दम रोग विशेषज्ञहरूले यस्तो बताएका हुन् ।
मेडिसिन विभागका चिकित्सक डा. दिब्यराज मिश्रले क्यान्सर, मृगौला रोग र मुटुरोगभन्दा पनि दमको रोग भयावह अवस्थामा देखिएको बताए ।
उनले राज्यले दम रोगीलाई सहुलियत दिने काम नगरेको बताए । उनले भने, ‘अन्य दीर्घ रोगका तुलनामा यसको उपचार महङ्गो छ । तर, राज्यले यसलाई प्राथमिकतामा राखेन ।’ दम रोगीहरूले मासिक १२ हजार रूपैयाँ औषधोपचारमा खर्च गर्नुपने बाध्यता रहेको उनले बताए ।
उनले ९० प्रतिशत दमका रोगी चुरोट सेवन साथै धुवाधुलोको कारण हुने गरेको बताए । एक प्रतिशत भने वंशाणुगत हुने गरेको छ । ४० वर्षभन्दा मुनिका व्यक्तिलाई हुने दमलाई बङक्रिल एज्मा भनिन्छ जुन सावधान अपनाए निको हुन्छ ।
४० कटिसकेका व्यक्तिमा हुने दमलाई सिआपिडी भनिन्छ । जसलाई दीर्घ रोगको रूपमा लिइन्छ । बीपी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको संख्याका आधारमा मुटुमृगौला भन्दा दम रोगी बढी हुने गरेको छ ।
उनले भने, ‘उपचारमा आएका बिरामीमध्ये ४० प्रतिशत मुटुरोगी र ४१ प्रतिशत दमका रोगी हुने गरेको छ ।’ प्रतिष्ठानमा मङ्गलबार र शुक्रबार दम तथा फोक्सोको विशेष ओपिडी हुन्छ त्यहाँ आउने बिरामीमध्ये ५५ वर्ष माथिका ६० देखि ७० प्रतिशत दमकै रोगी हुन्छन् ।’
दिवसकै अवसर पारेर तीन दिने निःशुल्क उपचार शिविर समेत सञ्चालन गरेको छ ।
प्रतिष्ठानका मेडिसिन विभागमा बिरामी, सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रियासमेत गरेको थियो । सो अवसरमा बिरामीहरूले आफूहरूमा भएको समस्याका बारेमा चिकित्सकलाई सुनाएका थिए । प्रतिष्ठानले शुक्रबारविविध कार्यक्रम गरी यो दिवस मनाउने भएको छ ।
दम रोगको विषयमा सचेतनात्मक कार्यक्रम गर्दै रोग न्यूनीकरण गर्दै लाने डा. मिश्रको भनाइ छ ।