बिर्तामोड/प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनलाई एकसातादेखि ‘तँलाई मार्न ५० लाख लिएको छु’ भन्दै धम्क्याइएको प्रकरणको नयाँ रहस्य खुलेको छ ।

सांसद लिङदेनले बिर्तामोडमा पत्रकार सम्मेलन गरी झापाका केही नेता र आपराधिक पृष्ठभूमि भएका ब्यक्तिसँग पक्राउ परेका ब्यक्तिको कनेक्सन रहेको खुलेपछि धम्की प्रकरणमा अन्य पनि जोडिएको बताएका छन् । ‘आर्थिक लाभ लिने उद्देश्यले मात्रै धम्क्याइएको होइन भन्ने मेरो अनुमान अहिले आएर सत्य नजिक पुगेको छ, लिङदेनले भने–‘झापा क्षेत्र नं. ३ कै एकजना नेता र अपराधिक पृष्ठभूमिका अर्का ब्यक्तिसँग उनको कनेक्सन रहेको देखियो ।’ लिङदेनले नेता र अर्का ब्यक्ति को हुन् ? भनेर सार्वजनिक भने गरेनन् ।

घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाकै तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई पक्राउ गरेको छ । पक्राउ परेका रोकायाको नाममा दर्ता रहेको सीम कार्डबाट तिलकले राजेन्द्रलाई धम्क्याएको समेत खुलेको छ । त्यही सीम कार्डबाट अन्य ३ जना व्यक्तिलाई पनि सम्पर्क गरिएको भेटिएको छ, जसमध्ये दुई जनालाई सांसद लिङ्देनले चिनेको बताएका छन् ।

पराजुलीसँग सम्पर्क रहेका पहिलो व्यक्ति झापा क्षेत्र नम्बर ३ का नेता र अर्का व्यक्ति आपराधिक पृष्ठभूमिको भएको जनाएका छन् । जुन निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा उठेका लिङदेन बिजयी भएका थिए । ‘दोस्रो व्यक्ति केही समय जेल बसेर निस्किएका हुन’, उनले भने, ‘मेरो त राम्रो चिनजान छ । तर, मलाई त्यस्तो गर्ला भन्ने सोचेको थिइन ।’ लिङदेनले सिआइबीको अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक नगर्ने समेत बताए ।

पत्रकार सम्मेलनमा लिङदेनले पराजुलीले गरेको म्यासेज, वाट्स एपमा गरेको धम्कीपुर्ण भ्वाइस म्यासेस सुनाएका थिए । पराजुलीले आफु भारतीय नागरिक भएको भन्दै फरक फरक स्वर र भाषामा म्यासेज पठाएका थिए । लिङदेनले प्रहरीमा जाहेरी नदिई नै अनुसंधानका अधिकारीसँग समन्वय गरेर पराजुलीलाई पक्रिन सुचना दिएका थिए । उनले अनुसंधानको प्रकृति हेरेर जाहेरी दिने बताए ।