भद्रपुर/ नक्कली नम्बर प्लेट राखेर सञ्चालनमा ल्याउँदै आएको सुमो गोल्ड नामको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–८ स्थित हात्ती किल्ला भन्ने स्थानबाट बेवारिसे अवस्थामा रहेको गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ । सादा पोसाकमा खटिएका प्रहरीले शङ्का लागि चेकजाँच गर्दा ना.२ च ६३२५ नम्बर उल्लेख गाडी दुईदिन अघि बेवारिसे अवस्थामा फेला पारेको हो ।
चालक फेला नपरेपछि गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले गरेको अनुसन्धानमा नारायणी यातायात कार्यालयमा दर्तासमेत नरहेको उक्त कार्यालयबाट पत्र आएपछि गाडी नियन्त्रणमा लिनुपरेको सशस्त्रका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले जनाए ।
सक्कली कागजपत्र फेला नपरेपछि अनुमानित १२ लाख मूल्य कायम गरी बिहीबार मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको श्रेष्ठले जानकारी दिए ।