जिरोपोइन्ट/ किरात मेवाहाङ याखोम्माको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन २०७६ हुने भएको छ । यही वैशाख १८ र १९ गते सङ्खुवासभाको चिचिला गाउँपालिका–२ दिदिङ याम्दाङ गाउँमा राष्ट्रिय सम्मेलन हुने शनिबार सङ्खुवासभाको खाँदबारीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
 
सम्मेलनमा मेवाहाङ जातिबाट विभिन्न पदमा निर्वाचित १२ जना व्यक्तित्वहरू र स्नातकोत्तर तहमा मेवाहाङ भाषासम्बन्धी थेसिस पूरा गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिनेछ । सम्मेलन स्थलमा मेवाहाङ जातिको विभिन्न शिलीहरू प्रस्तुत गरिने साथै मेवाहाङ जातिको पहिचान झल्कने भेषभूषा, बाजागाजा, मेवाहाङसँग सम्बन्धित कृतिहरू, अल्लोबाट बनेका सामग्रीहरू र प्राचीनकालदेखि मेवाहाङ जातिले उपभोग गर्दै आएका खानपानका परिकारहरूको प्रदर्शर्नी एवम् बिक्री कक्षहरू पनि रहने बताइएको छ ।
 
साथमा विभिन्न गाउँ तथा जिल्लाबाट ६० जना प्रतिनिधि, १ सय जनाभन्दा बढी पर्यवेक्षकको सहभागिता रहनेछ । मेवाहाङ र नेवाहाङ एउटै जाति रहेकोले सम्मेलनबाट मेवाहाङ जातिको समग्र हित एवम् विकास हुने नीति तथा कार्यक्रमहरू तय गरिने बताइएको छ ।
 
पूर्वी नेपालको सङ्खुवासभा र भोजपुर जिल्लाको बीचमा पर्ने सिलिचोङ हिमाल आसपास बसोबास रहेको किरात सभ्यताभित्रको एक छुट्टै मेवाहाङ जाति रहेको संस्थाका केन्द्रीय महासचिव नरेन्द्र लुम्लुमा मेवाहाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
 
राष्ट्रिय जनगणना २०६८ अनुसार मेवाहाङ भाषीको सङ्ख्या ३१ सय रहेको बताइएको छ । यसको छुट्टै भाषा, संस्कृति, भूगोल, संस्कार, परम्परा एवम् छुट्टै लिखित र अलिखित इतिहास,् सहित्य, सङ्गीत भएर पनि आदिवासी जनजातिमा सूचीकृत हुने अधिकारबाट बञ्चित भएकोले मेवाहाङ जाति सूचीकृत हुनुपर्ने संस्थाका अध्यक्ष शङ्करदास मेवाहाङले बताएका छन् ।