ताप्लेजुङ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले वर्तमान सरकार अपराधी ढंगले प्रस्तुत भएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रघाती कार्यहरु तत्काल बन्द गरी न्यायसंगत ढंगवाट जनताका जीवनयापनसँग गाँसिएका विषयहरुलाई तत्काल समाधान खोज्न माग गर्दै ६ बुँदे माग सहितको ज्ञापन पत्र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी मार्फत प्रधानन्त्रिलाई वुझाएको हो ।

नेपाल तरुण दल ताप्लेजुङका अध्यक्ष खगेनसिहं हाङ्गामद्धारा हस्ताक्षरिक ३ पेजको ज्ञापन पत्रमा देशमा बढ्दै गएको भ्रष्टचार, महंगी, अन्याय र अत्याचारको विरुद्ध तरुण दल जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जनाएको छ । उसले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता नलगाएको, सरकारकै संरक्षणमा भ्रष्टचार भैरहेको, वाईडवडी जहाज खरिदमा भएको अनियमिततामा संलग्नलाई कारवाहि नगरेको भन्दै तुरुन्त छानविन गरि कारवाही गर्न माग गरेको छ ।

एनसेलले बुझाउनुपर्ने ७० अर्व भन्दा बढि राजश्व छल्नेहरुसँग साँठगाँठ गरेको, मेलम्ची खानेपानी परियोजना चाँडो सम्पन्न गर्न साथै सार्वजनिक र सरकारी जमिनहरु कार्यकर्ताहरुको नाममा लालपुर्जा बाढ्ने काम भैरहेको भन्दै घोर निन्दा र भत्सना गरेको जनाएको छ । यसैविच तरुण दलले बालुवाटार जग्गा काण्डमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई हदैसम्मको कारवाहीको समेत माग गरेको छ ।