काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन् । संयुक्त टेड युनियन समन्वय केन्द्रद्वारा १३०औँ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पु¥याइएको छ ।”
संविधानले हामीलाई अघि बढ्न श्रमिक वर्गीय चिन्तनलाई आधार मानेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको छ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदूर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ ।” मजदूर सङ्गठनले विभिन्न विचार धारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै उनले सरकारले गरेका कामको जति नै आलोचना गरे पनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको बताए ।
प्रधानमन्त्री ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ ।”
उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठलगायतका श्रमिक नेताले अन्तर्राष्ट्रिय श्रमिक दिवस र श्रमिका हक अधिकारका विविध पक्षका बारेमा प्रकाश पारे । ‘सबै न्यायिक रोजगार दातालाई आह्वान सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ मूल नाराका साथ १३०औँ अन्तर्राष्ट्रिय मजदूर दिवस यहाँ मनाइएको हो । सो अवसरमा प्रधानमन्त्री ओली आन्दोलनमा महत्वपूर्ण योजना पु¥याउने लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल र शालिकराम जम्मरकट्टेललाई सम्मान गरिएको थियो ।