विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरि संसदमा ल्याएको विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक सरकारले फिर्ता गर्नुपर्ने काँग्रेसको अडान रहेको बताए । सरकारले जर्बजस्ती गरि पारित गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन नदिने उनको भनाई थियो ।

‘बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको होइन’ उनले भने, ‘पत्रकार आंफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरु आफैंले बुझ्ने कुरा हो के लेख्न हुने के नहुने ? सरकारले भन्नै पर्दैन ।’

देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गरे । अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उनले सकारको कामकार्वाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गरे ।

पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको बताए । जागरण अभियानले पार्टीलाई नयाँ उर्जा मिल्ने उनले बताए ।