धरान/ मदन भण्डारी र जनताको बहुदलीय जनवादको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले दुईतिहाइको सरकार मुलुकमा छ तर त्यो सरकार कुन विचारबाट निर्देशित भइरहेको छ भन्ने थाहा हुन नसकेको बताएका छन् ।

इटहरी उपमहानगरपालिकाको साँस्कृतिक भवनमा मदन भण्डारी फाउण्डेशन जिल्ला कमिटीद्वारा शुक्रबार आयोजित सो अन्तरक्रिया कार्यक्रममा अनेमसङ्घकी केन्द्रीय सदस्य इन्दु गौतमले पार्टीभित्र स्कुलिङ हुन छाडेको र नेकपाका कार्यकर्ताहरूमा अध्ययनको कमी हुँदै गएको बताउँदै फाउण्डेसनले मदन भण्डारीका १४ वटा विचारका विषयमा विमर्श गर्नुपर्ने आवश्यकता औंल्याइन् । जनताको बहुदलीय जनवाद परिमार्जन हुन आवश्यक छ कि छैन, थप–घट हुन जरुरी भए त्यसका विषयमा छलफल हुनु जरुरी भएको र आम कार्यकर्तालाई विषयगत ज्ञान दिएर जानुपर्ने बताइन् ।

अर्का वक्ता प्राध्यापक लेखनाथ घिमिरेले संसारमा कम्युनिज्म रक्षात्मक रहेको अवस्थामा मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादले पुँजीवाद खतरामा परेको महसुस गरी मदन भण्डारीको हत्या भएको बताए । उनले सरकारलाई पार्टीले अनुगमन गर्ने परिपाटी बसाल्नु पर्नेमा यस्तो नभइरहेको उल्लेख गरे ।

जबजको विषयमा गाउँ–गाउँमा प्रशिक्षण गर्दै गएमा पार्टीभित्र सचेत र इमान्दार नेता, कार्यकर्ताहरू जन्मिने कुरामा आफू विश्वस्त भएको अर्का वक्ता डा. रमेश घिमिरेले बताए । उनले जबजको परिमार्जन आवश्यक छ भने गरौं, आवश्यक छैन भने यसको पालनामा कञ्जुस्याइँ नगरौं भन्ने उल्लेख गरे ।

सोही कार्यक्रममा प्रदेश नं. १ का सभासद् सर्वध्वज साँवाले सिद्धान्त, निष्ठा स्खलित हुँदै गएको र पार्टीभित्र विचलन आएको जस्तो देखिन थालेको बताए । ‘सामन्तवाद ढाल्यौं भनेको त अझै जरा–नङ्ग्रा कतै–कतै रहेछ र घरि–घरि ब्युँतिन खोज्दैछ’–उनले भने । दलाल नोकरशाही पुँजीवाद हाबी भएर आएको बताउँदै उनले नेतृत्वप्रति कटाक्ष गर्र्दै आफ्नो मतअनुसार चल्न नदिएको आरोप लगाए । उनले प्रदेशको राजधानीको विषयमा नेतृत्वले हस्तक्षेप गरेको बताए ।

अर्का वक्ता पूर्वमाननीय तथा प्रदेश सरकारका कानून मस्यौदा कमिटीका संयोजक रेवतीरमण भण्डारीले हाम्रा मन्त्रीहरू गाउँमा आए भने नेकपाका कार्यकर्ता र जनताले आज के भन्छन्, भ्रष्ट आयो कि मन्त्री आयो भन्छन् भन्ने प्रश्न गर्दैे उनले द्विविधा उत्पन्न हुन थालेको बताए । ‘पार्टीको सत्ताभन्दा जनताको सत्ता हुनुपर्ने स्वर्गीय मदन भण्डारीको उक्तिभन्दा उल्टो दिशाबाट हामी हिँडिरहेका छौं कि त्यसतर्फ हामी सबै सचेत हुन जरुरी छ’–उनले भने ।

कार्यक्रमलाई नेकपा प्रदेश सदस्य डम्बर सुवेदी, सुनसरी जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सदस्य राम निरौला, फाउण्डेसनका इटहरी नगर अध्यक्ष गणेश खत्रीलगायतले सम्बोधन गरेका थिए । फाउण्डेसनका जिल्ला अध्यक्ष युवराज गौतमको अध्यक्षता र सचिव किशोरकुमार कार्कीको सञ्चालनमा भएको सो कार्यक्रममा फाउण्डेसनका केन्द्रीय सदस्य ओम कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।