धरान/ आन्तरिक विवादका कारण नेकपा धरान नगरकमिटीको आज (आइतबार) हुने भनिएको शपथग्रहण कार्यक्रम रोकिएको छ ।

धरान उपमहानगर कार्यदल र सुनसरी जिल्ला कार्यदलले नगरकमिटीका लागि सिफारिस गरी पठाएका जसरत थलङ र चन्द्रराज राईको नाम काटेर प्रदेशले सन्त तेम्बे र खेम रणपहेलीको नाम राखी पठाएपछि विवाद उत्पन्न भएको थियो । प्रदेशले पठाएका नाममा असहमति जनाउँदै पूर्व माओवादीतर्फका जिल्ला कमिटी सदस्यहरूले प्रदेश कमिटीमा निवेदनसमेत दिएका थिए । तर निवेदनमाथि कुनै सुनुवाइ नभएपछि विवाद चुलिएको हो ।

नेकपा धरान उपमहानगर कमिटीमा विवादित व्यक्तिबाहेक अन्यलाई शपथग्रहण गराउने तयारी भए पनि जिल्ला र प्रदेशले स्पष्ट कुरा नगरेपछि शपथग्रहण रोकिएको नगरकमिटीका एक सदस्यले बताए । उनले भने, ‘यो निहुँमा सदस्य विवाद देखिए पनि खासमा पूर्वमाओवादी र पूर्व एमालेबीच भावनात्मक रूपमा एकता भइनसकेकाले यस्तो अवस्था आएको हो ।’

जिल्ला कमिटी र प्रदेश कमिटीका नेतृत्वमा समन्वय अभावका कारण यस्तो समस्या उत्पन्न भएको नेकपा कार्यकर्ताहरूको विश्लेषण छ । उपनिर्वाचनको माहोल शुरु भएका बेला पार्टीभित्र देखिएको विवादले असर गर्न सक्ने विश्लेषण पनि हुन थालेको छ । धरान उपमहानगरको कार्यदलमा समेत रहेका नेकपाको एक नम्बर प्रदेश कमिटी सदस्य आइन्द्रविक्रम बेघा शपथग्रहण कार्यक्रम रोकिएको हो वा रोक्न लगाइएको हो आफू स्पष्ट हुन नसकेको बताउँछन् ।

उनले सदस्य तलबाट पठाउने नभई वडा, नगर र जिल्लाको सुझावका आधारमा प्रदेशले निर्णय गर्ने व्यवस्था गरेको र त्यसरी निर्णय गर्दा सुझाव हु–बहु लागू नहुन पनि सक्ने बताए । उनले प्रदेशले गरेको निर्णय नगरले कार्यान्वयन गर्नुपर्ने बताए । बेघाले भने, ‘निर्वाचनको तयारी गर्नुपर्ने बेलामा केही साथीहरूले नियत राखेर यस्तो गरेको हो कि जस्तो लाग्छ ।’

नेकपा धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले पूर्व माओवादी साथीहरूको असमझदारीका कारण शपथग्रहण रोकिएको बताए । उनले प्रदेशले नाम परिवर्तन गरेकाले विवाद देखिएको प्रष्ट पारे । उनका अनुसार शपथग्रहण कहिले हुने भन्ने विषय अहिले अन्यौलमै छ । शपथग्रहणका विषयमा छलफल चलिरहेको सुवेदीले बताए । शपथग्रहण नहुँदैमा चुनावी कार्यक्रममा भने असर नपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘शपथग्रहण नभए पनि हामी चुनावी कार्यक्रममा लाग्छौं । त्यसले खासै फरक पर्दैन ।’