धरान । प्रदेश नं.१ मा कोरोना सङ्क्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु सबै मोरङ जिल्लाका हुन् । मृत्यु हुनेहरुमा मोरङको विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुष रहेको प्रदेश १को सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । मृतकहरु मध्ये २७ जना प्रदेश १का हुन् भने १२ जना प्रदेश २का हुन् ।

५४ मा सङ्क्रमण पुष्टि
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये ३१ पुरुष र २३ महिलामा सङक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १–१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला र ६पुरुष, धरानका ४ महिला र १ पुरुष, झापाको दमकका १ महिला र २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष,  इलामको चुलाचुलीका १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिलामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ ।

शनिबार प्रदेश १मा १६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको छ ।