पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरको बन्दाबन्दी (लकडाउन) हटाइएको छ ।
कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको शनिवार बसेको बैठकले लकडाउनले मानिसहरुको गतिविधिमा असहजता उत्पन्न गरेकाले स्वास्थ्य सतर्कता सधैं अपनाउन आव्हान गर्दै तत्काललाई लकडाउन हटाउने निर्णय गरेको हो । समुदायस्तरमा केहीमात्रामा कोरोना देखिएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै आफुपनि बच्ने र अरुलाई पनि बचाउने योजना अनुरुप नगरवासीको दिनचर्या रहनु पर्नेमा जोड दिइएको छ ।
अनिर्वाय रुपमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी अर्काे सूचना नभएसम्मका लागि आइतबारबाट सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको नगर प्रमुख एवम समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताए ।
स्वास्थ्य सतर्कता नअपनाएमा नियमानुसार कारवाही गरिने तथा अपरिचत व्यक्ति नगरमा प्रवेश गरेको पाइए प्रहरीलाई जानकारी गराउने समेत निर्णय गरिएको पनि उनले जनाए ।