धरान । इलाका प्रहरी कार्यालय धरानको प्रहरी हिरासतमा रहेका ६ जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि इलाका प्रहरीकै हिरासतमा रहेका एक जना युवामा कोरोना सङ्क्रमण देखिएको थियो । उनको कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमख उमेश मेहताले बताए । उनले भने, ‘ती युवाको कन्ट्रयाक ट्रेसिङ पनि गरियो । साथै हिरासतमा रहेकाहरुलाई अदालतमा पेश गर्न लैजानुअघि कोरोना परीक्षण गरिन्छ । दुवै हिसाबले परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखियो ।’
कोरोना पोजिटिभ देखिएका ६ जनामा ४ जना धरानका स्थानीय हुन् भने एक जना खोटाङ र एक जना इटहरीका हुन् । धरान १३ का २० वर्षीय र धरान १५ का १९, २३ र २९ वर्षीय युवाहरु छन् । इटहरीका ३० वर्षीय र खोटाङका २६ वर्षीय युवामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरुसँग सम्पर्कमा आएका अन्य थुनुवाहरुको पनि परीक्षण गरिने स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।