धरान । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पिण्डेश्वर विद्यापीठ एकाइले विद्यापीठमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएका दुई जना गुरुहरूलाई सम्मानका साथ बिदाइ गरेको छ ।
प्राचीन न्याय विषयका प्राध्यापक पूर्वप्राचार्य डा.चन्द्रमणि नेपाल र साहित्य विषयका प्राध्यापक डा.भरतप्रसाद भट्टराईलाई बिदाइ गरिएको हो । विश्वविद्यालयीय सेवामा डा.नेपालले ३५ वर्ष र डा. भट्टराईले ३० वर्ष प्राध्यापन गरी पुर्याएको योगदानका विषयमा वक्ताहरूले प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले सेवानिवृत्त गुरुहरूले संस्कृतवाङ्मयका विभिन्न विधाहरूमा खोज अनुसन्धानका माध्यमबाट समाजमा योगदान पुर्याउन आग्रह गरे ।
उनले आफूले पनि संस्कृत पृष्ठभूमिबाट नै शिक्षा लिएको र संस्कृत शिक्षामा बिहान उठेदेखि सुत्ने बेलासम्मका विधिविधान रहेकाले यसले मानिसलाई आचरणयुक्त बनाई देशमा सुशासन कायम गर्न सहयोग पुर्याउने बताए । कार्यक्रममा बिदाइ हुने दुवै गुरुहरूले विद्यापीठमा रहँदाका सुखद् स्मृतिहरू सुनाएका थिए ।
दुवै गुरुहरूलाई कार्यक्रमका सभापति डा.महानन्द तिमिल्सिना र प्रमुख अतिथि डा.तुम्बाहाङले संयुक्तरूपमा दोसल्ला ओढाई मायाको चिनो र सम्मान–पत्र प्रदान गरी बिदाइ गरेका थिए । कार्यक्रमका बीचमा सञ्चारकर्मी तथा गायिका अम्विका दुवाडीले गीत र अभिनयका माध्यमबाट दर्शकहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् ।
सह–प्रा.दामोदर गौतमद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको यस कार्यक्रममा विद्यापीठका प्राचार्य उप–प्रा.काशीनाथ पौडेल र प्र.प्रा.सङ्घका केन्द्रीय सदस्य उप–प्रा. जीवनकुमार राईले गुरुहरूको सेवानिवृत्त जीवन प्राज्ञिक उन्नयनमा क्रियाशील रहोस् भनी बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सह–प्रा.गुरुप्रसाद कोइराला र सह–प्रा.टेकनाथ घिमिरेले पद्यात्मक सम्पान–पत्र वाचन गर्दै गुरुहरूको जीवनीमाथि प्रकाश पारेका थिए । एकाइका अध्यक्ष डा.महानन्द तिमिल्सिनाको सभापतित्वमा आयोजित यस कार्यक्रमको सञ्चालन उप–प्रा.सोमनाथ रेग्मीले गरेका थिए ।