विराटनगर । दोस्रो संस्करणको एसईई कप अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको वराह राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ ।
विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै वराह राइजिङ फाइनलमा पुगेको हो । जितको लागि वराहका रोहन राईले २ गोल र आयुश रुचाल मगरले १ गोल गरेका थिए । सान्त्वना गोल सहिद स्मृति स्कुलका सुशील राईले फर्काए । म्यान अफ द म्याच वराह राइजिङका रोहन राई घोषित भए ।
सोही दिन भएको दोस्रो सेमीफाइनल खेलमा मोरङको बूढीगङ्गाको जेभियर्स स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सत्यनारायण मावि फाइनलमा पुगेको हो । निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णय टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सत्यनारायण माविका हेमन्त राजवंशी घोषित भए । उपाधिको लागि आज (शनिबार) दिउँसो १ बजे सत्यनारयण र वराह राइजिङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।