काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदाहुँदै अतिविशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरू विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भीआईपी र भिभीआईपी क्याबिन विस्तार गरिनुका साथै १५ जना चिकित्सकको टोली परिचालन गरिएकाले अतिविशिष्ट र विशिष्टदेखि आम सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताए ।

उनले यस कार्यमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । कस्तुरीले आफ्नो बास्ना थाहा नपाए झैँ वीर अस्पतालले आफ्नो सेवाको गुणस्तर र क्षमताबारे आफैले थाहा नपाएजस्तो हुन नहुनेमा जोड दिँदै उनले आफूले मन्त्रालयले नेतृत्व लिएपछि राष्ट्रिय योजना आयोगले घटाएर ल्याएको बजेटको सिलिङमा करिब १० अर्ब थपेको सुनाए ।

समाज सेवामा नाफा लिने गलत नियण्त राख्न नहुने उल्लेख गर्दै उनले दस प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शया निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाए ।

‘कुनै बेला यही वीर अस्पतालले दस महिनासम्म कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था खेपेको थियो’ उनले भने, ‘अहिले उत्साहजनकरूपमा सेवा सुविधा र व्यवस्थापनसमेतमा सुधार आएको छ । म यसमा तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । अझै सेवाको स्तर बढाउने काममा दत्तचित्त भएर लाग्नुस् । सुशासन कायम गर्नुस् । तपाईंहरूको सेवा सुविधा अपुग भएमा सरकारले प्रबन्ध गर्नेछ । म मन्त्रीको हैसियतले असल अभिभावकको भूमिका खेल्नेछु ।’

कार्यक्रममा मन्त्री बस्नेतले उत्कृष्ट कार्यसम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मान प्रदान गरे । हाल वीर अस्पतालका सात शया विपन्नका लागि निःशुल्क गरिएको छ । ओपिडी सेवा बिहान ८ बजेदेखि सञ्चालन गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको बिम्ब भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने जनाए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई महत्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसीयूको सङ्ख्या बढाएर सञ्चालन गरिने जनाए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले १५ शøयाबाट सुरु भएको अस्पतालमा अहिले नौ सय ६६ शøया सञ्चालन हुन थाले पनि सोअनुसार बजेट वृद्धि हुन नसकेको बताए । चालु आर्थिक वर्षमा अस्पतालका लागि ७३ करोड मात्र बजेट विनियोजित छ । (रासस)