विजयपुर । कोशी प्रदेशमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढिरहेको छ । रोगबाट पशु मर्ने दर पनि बढिरहेको छ । ‘लम्पी स्किन’ बाट कोशी प्रदेशमा मात्रै दैनिक ७० पशु (गाईगोरु, भैंसीराँगा) मरिरहेका छन् ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशको तथ्याङ्कअनुसार पछिल्लो २१ दिनमा दैनिक औषतमा ७० पशु मर्ने गरेको देखाइएको छ । कोशीका १४ जिल्लामा असार २१ गतेसम्म ४ हजार ३ सय ९१ वटा पशु मरेका थिए । त्यसयता साउन ११ गतेसम्म २१ दिनमा १ हजार ४ सय ८० पशु मरेका छन् ।

औषतमा ७० दशमलव ४७ वटा पशु मरिरहेका छन् । कोशीमा हालसम्म कुल  ५ हजार ८ सय ७१ वटा पशु मरेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । कोशीमा २ लाख ३९ हजार ४४ वटा पशु सङ्क्रमित रहेका छन् । जसमा २ लाख ३७ हजार ४६ गाईगोरु सङ्क्रमित छन् भने २ हजार ८ वटा भैंसीराँगा सङ्क्रमित छन् । ५ हजार ८ सय ७१ मरेका पशुमध्ये ५ हजार ८ सय ५ गाईगोरु रहेका छन् भने ६६ भैंसीराँगा मरेको निर्देशनालयले जनाएको छ ।

१ लाख १९ हजार ४ सय ९४ वटा पशुमा खोप लगाएको निर्देशनालयका पशु चिकित्सक तथा सूचना अधिकारी विनोदकुमार साहले जानकारी दिएका छन् । उनले भने, ‘सङ्क्रमण बढिरहेको छ, पहिले पहाडी क्षेत्रमा बढी थियो भने अहिले तराई क्षेत्रमा बढी फैलिएको छ ।’

उनका अनुसार ‘लम्पी स्किन’ सरुवा रोग नभएकाले उमालेर दूध खान मिल्छ । मासु पनि खान मिल्ने पशु चिकित्सक साहले बताए । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरका अनुसार २०८० साउन ११ गतेसम्मको तथ्याङ्कअनुसार  झापामा हालसम्म २० हजार ९ सय २५ पशु सङ्क्रमित छन् ।

५ सय १९ पशु मरेका छन् भने ३० हजार ४ सय ५६ पशुलाई खोप लगाइएको छ । गत असार २१ गतेसम्म इलाममा ३० हजार ४ सय ७८ पशु सङ्क्रमित भएकोमा त्यसयता ३१ हजार ३ सय ४९ पशु सङ्क्रमित भएका छन् । 

जसमा ९ वटा भैँसीराँगा छन् । दुई भैँसीराँगासहित १ हजार ३ सय ८२ वटा पशुको मृत्यु भएको छ । २७ हजार ५४ वटा पशुमा खोप लगाइएको छ । पाँचथरमा ६६ भैँसीराँगासहित ३३ हजार ५ सय १२ वटा पशु सङ्क्रमित भएका छन् । जसमा तीन भैँसीराँगा र ४ सय ४० गाईगोरु मरेका छन् । १५ हजार २५ पशुलाई खोप लगाइएको छ ।  ताप्लेजुङमा ५० भैँसीराँगासहित ८ हजार २ सय १२ सङ्क्रमित भएका छन् ।

जसमा १ भैँसीराँगासहित २ सय ७ गाईगोरु मरेका छन् भने १३ हजार ६ सय पशुमा खोप लगाइएको छ । मोरङमा २ सय ९७ भैँसी र गोरुसहित १९ हजार ५ सय २१ पशु सङ्क्रमित भएका छन् । जसमा १ भैँसीराँगासहित ९ सय ९ पशु मरेका छन् । १० हजार ३ सय ५६ पशुमा खोप लगाइएको छ ।

उदयपुरमा १ हजार ३४ भैंसीराँगासहित २१ हजार ६ सय ५ सङ्क्रमित भएका छन् । जसमा ३८ भैँसीराँगासहित ३ सय ९९ पशु मरेका छन् भने १ हजार ६ सय ८६  पशुलाई खोप लगाइएको छ । खोटाङमा २ सय १८ भैंसीराँगासहित १३ हजार ५ सय २४ पशु सङ्क्रमित भएका छन् ।

जसमा ८ भैँसीराँगासहित ३ सय ३४ पशु मरेका छन् भने ४ हजार १ सय ९२ पशुलाई खोप लगाइएको छ । ओखलढुङ्गामा १ सय २० भैंसीराँगासहित ७ हजार ६ सय ९४ पशु सङ्क्रमित भएका छन् । जसमा २ भैंसीराँगासहित २ सय २ पशु मरेका छन् ।

४ हजार ६ सय ७५ पशुलाई खोप लगाइएको छ । सोलुखुम्बुमा २३ भैंसीराँगासहित ७ सय ५ पशु सङ्क्रमित भएका छन् । जसमा ९ भैंसीराँगासहित ३५ पशु मरेका छन् भने २ हजार ६ सय पशुमा खोप लगाइएको  छ । धनकुटामा ४५ भैंसीराँगासहित २१ हजार ५ सय ६८ पशु सङ्क्रमित भएका छन् । जसमा ४ सय ३ गाईगोरु मरेका छन् भने २ हजार ८ सय ५० पशुमा खोप लगाइएको छ ।

तेह्रथुममा १ सय ३१ भैंसीराँगासहित १६ हजार ९ सय ९३ पशु सङ्क्रमित भएका छन् । जसमा २ भैंसीराँगासहित २ सय ४१ पशु मरेका छन् भने ७ सय ७५ पशुलाई खोप लगाइएको छ । सङ्खुवासभामा १५ भैंसीराँगासहित १४ हजार १ सय ९९ पशु सङ्क्रमित भएका छन् ।

जसमा २ सय ९६ गाईगोरु मरेका छन् भने खोप लगाइएको छैन । भोजपुरमा ७ हजार ३ सय ४० गाईगोरु सङ्क्रमित भएका छन् । जसमा ९६ गाईगोरु मरेका छन् भने खोप लगाइएको छैन । सुनसरीमा २१ हजार ७ सय ७७ गाईगोरु सङ्क्रमित भएका छन् ।

जसमा ४ सय ८ गाईगोरु मरेका छन् भने ६ हजार २ सय २५ पशुमा खोप लगाइएको छ । कोशी प्रदेशका १४ जिल्लामा २ लाख ३९ हजार ४४ पशु सङ्क्रमित भएका छन् भने ५ हजार ८ सय ७१ पशु मरेका छन् । १ लाख १९ हजार ४ सय ९४ पशुमा खोप लगाइएको छ । चैतमा कोशी प्रदेशमा देखिएको ‘लम्पी स्किन’ हाल मुलुकभर महामारीको रूपमा फैलिएको छ ।