विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ स्थित विराट टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा मृत्यु भएका एक जना पुरूषको अन्तिम संस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

बढीगंगा गाउँपालिका – ५ डिपुटोलका ४५ वर्षिय पुरूषको अस्पतालको आइसीयूमा उपचारको क्रममा शुक्रबार राती १० बजे मृत्यु भएको थियो । मृतकका परिवारले शव बुझेर अन्तिम संस्कार गरेपछि शनिबार दिउँसो कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
निमोनिया र स्वासप्रश्वासमा समस्या भएपछि विरामीलाई शुक्रबार विहान ४ बजे विराट टिचिङ्ग हस्पिटल भर्ना गरिएको थियो । विरामीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अस्पतालको आइसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको विराट टिचिङ्ग हस्पिटलको कोभिडका फोकल पर्सन डा. पुरु कोइरालाले जानकारी दिए ।

विरामीको मृत्यु भएपछि आफन्तले शनिबार करिब १० बजे शव लगेर बुढीखोलामा दाहसंस्कार गरेको बुढीगंगाका स्थानिय कपिल सुनवारले बताए । मृतक परिवारले अन्तिम संस्कार गरेपछि शनिबार दिउँसो १ बजे ४५ वर्षिय पुरूषको संक्रमण देखिएको विराट टिचिङ्ग हस्पिटलका कोभिड फोकल पर्सन डा. कोइरालाले बताए । प्रदेश जनस्वास्थ्य ल्याबले दिएको रिपोट अनुसार मृतकमा कोरोना संक्रमण पुष्टि भएको कोइरालाको भनाई छ । ‘विरामी हस्पिटल भर्ना गर्दा स्वास्थ्य अवस्था गम्भिर थियो,’ छातिरोग विशेषज्ञ समेत रहेका डाक्टर कोराइलाले भने, ‘अस्पताल भर्ना भए लगतै हामीले स्वाब संकलन गरि ल्याबमा पठाएका थियौं । शनिबार दिउँसो रिपोट पोजेटिभ आयो ।’

कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । तर, विराट टिचिङ्ग हस्पिटलले मृतकको रिपोट नआउँदै शव परिवारलाई दिएर गम्भिर लापरवाही गरेको छ । कोरोना संक्रमण पुष्टि भएको मृतकका दाहासंस्कारमा करिब तीन दर्जन मलामी गएको स्थानियको भनाई छ । मलामी गएकाहरूको कन्टयाक टे«सिङ गरि सबैको पिसिआर परीक्षण गरिने बुढीगंगा गाउँपालिकाले जनाएको छ ।